जनकपुरधाम । नेपाल–भारत खुला सीमालाई वर्षौंदेखि दुई देशबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धको प्रतीक मानिँदै आएको छ। तर पछिल्ला महिनाहरूमा यही खुला सीमा संगठित लागूऔषध तस्करहरूको सुरक्षित ‘करिडोर’ बन्दै गएको देखिएको छ। भारतीय सीमावर्ती क्षेत्रबाट ब्राउन सुगर, ट्रामाडोल, कोरेक्सलगायत प्रतिबन्धित औषधि नेपाल भित्र्याउने र नेपालबाट गाँजा तथा चरेश भारततर्फ तस्करी गर्ने गिरोहको गतिविधि तीव्र बन्दै जाँदा मधेस प्रदेश अहिले लागूऔषध तस्करीको मुख्य ट्रान्जिट रुटका रूपमा देखिन थालेको छ।
असार महिनाको पहिलो २० दिनमा मात्र मधेस प्रदेश प्रहरीले सञ्चालन गरेको विशेष अभियानले यो नेटवर्क सामान्य तस्करी नभई संगठित अपराधको रूप लिइसकेको संकेत दिएको छ। प्रहरीमाथि गोली प्रहार, अत्याधुनिक नेटवर्कको प्रयोग, सीमापार गिरोहको सक्रियता र ठूलो परिमाणमा लागूऔषध बरामद हुनु यसका स्पष्ट प्रमाण हुन्।
गोली चल्न थालेपछि बदलियो प्रहरीको रणनीति
पछिल्ला दुई सातामा सिरहामा भएका दुई घटनाले तस्करहरू अब पक्राउबाट जोगिन ज्यानै लिन तयार रहेको देखाएको छ।
असार १९ गते सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमाक्षेत्रमा ब्राउन सुगर नेपाल भित्र्याइँदै गरेको सूचनाका आधारमा प्रहरी निगरानीमा थियो। दुई मोटरसाइकल रोक्ने क्रममा एउटा मोटरसाइकल भाग्न सफल भयो भने अर्कोमा रहेका व्यक्तिले प्रहरीमाथि नै कटुवा पेस्तोलबाट गोली प्रहार गरे। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा भारतको बिहार राज्य मधुबनी जिल्ला बिरपुर ग्राम पञ्चायत–३ निवासी ३५ वर्षीय अब्दुल कलामको खुट्टामा गोली लाग्यो। उनको साथबाट १२२ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद भयो।
यसअघि असार ७ गते सिरहा नगरपालिका–२१ लकडिगोठमा लागूऔषध कारोबारी पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि पनि तस्कर समूहले आक्रमण गरेको थियो। झडपका क्रममा प्रहरीले गोली चलाउँदा भारतको मधुबनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी रञ्जित कुमार पासवान र १७ वर्षीय रमन कुमार पासवान पक्राउ परे। घटनामा प्रहरी जवान हृदय नारायण ठाकुर घाइते भए भने पक्राउ परेकाबाट ९२ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर बरामद भयो।
यी दुवै घटनाले लागूऔषध तस्करहरू अब केवल कारोबारी नभई सशस्त्र प्रतिरोध गर्न सक्ने संगठित गिरोहका रूपमा विकसित भएको देखाएको छ।
ट्रकभित्र लुकाइएको थियो १ लाख २० हजारभन्दा बढी ट्रामाडोल
लागूऔषध तस्करी मोटरसाइकल वा साना समूहमा मात्रै सीमित छैन भन्ने तथ्य पर्सामा भएको अर्को कारबाहीले उजागर गर्यो।
असार ९ गते वीरगञ्जस्थित पीआर ढुवानी सेवाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइयो। सुरुमा सामान्य राजस्व अनुसन्धानका रूपमा अघि बढेको घटनाले पछि नयाँ मोड लियो। विस्तृत परीक्षण गर्दा ट्रकबाट ट्रामाडोलका १२ हजार पत्ता अर्थात् एक लाख २० हजार ६२० वटा ट्याब्लेट बरामद भए। यसले लागूऔषध तस्करहरूले व्यावसायिक ढुवानी प्रणालीसमेत प्रयोग गर्न थालेको देखाएको छ।
२० दिनमै ५८ पक्राउ, सबैभन्दा बढी बरामद पर्सा र सिरहामा
मधेस प्रदेश प्रहरीका अनुसार असार १ देखि २० गतेसम्म आठ जिल्लामा सञ्चालन गरिएको विशेष अपरेशनबाट ५८ जना पक्राउ परेका छन्।
यो अवधिमा पर्साबाट ६ क्विन्टल ८५ केजी ५०० ग्राम गाँजा, ३५.१७० ग्राम ब्राउन सुगर, एक लाख २० हजार ६२० वटा ट्रामाडोल ट्याब्लेट र चार वटा सवारीसाधन बरामद भएको छ।
सिरहाबाट ४१ केजी ७१५ ग्राम गाँजा, २४५.५२० ग्राम ब्राउन सुगर, एक थान कटुवा पेस्तोल र पाँच वटा सवारीसाधन बरामद गरिएको छ।
धनुषाबाट एक क्विन्टल १० केजी गाँजा, १६.३१० ग्राम ब्राउन सुगर, नाइट्राजेपाम, स्पास्मो ट्याब्लेट तथा चार वटा सवारीसाधन बरामद भएका छन्।
महोत्तरीबाट ५१ केजी २४० ग्राम गाँजा र विभिन्न प्रतिबन्धित औषधिसहित नौ जना पक्राउ परेका छन्। सप्तरीबाट २७ केजी गाँजा र १३७.१४० ग्राम ब्राउन सुगर बरामद भएको छ। बाराबाट २९ केजी ८८० ग्राम गाँजा र ब्राउन सुगर बरामद गरिएको छ भने सर्लाही र रौतहटबाट पनि प्रतिबन्धित औषधि तथा ब्राउन सुगरसहित पक्राउ परेका छन्।
किन बन्दैछ मधेस तस्करीको मुख्य ट्रान्जिट रुट ?
प्रहरी अधिकारीहरूका अनुसार भारतसँग जोडिएको खुला सीमा, दैनिक हजारौँ मानिसको सहज आवतजावत, ग्रामीण सीमाक्षेत्रमा पर्याप्त निगरानीको अभाव तथा सीमापार सक्रिय गिरोहबीचको समन्वयका कारण मधेस लागूऔषध तस्करीको मुख्य ट्रान्जिट रुट बन्दै गएको छ।
भारतीय सीमावर्ती बजारबाट सानो परिमाणमा ब्राउन सुगर र प्रतिबन्धित औषधि नेपाल ल्याइन्छ। त्यसपछि ती लागूऔषध काठमाडौंसहित अन्य प्रमुख सहरमा पुर्याइन्छ। अर्कोतर्फ नेपालमा उत्पादन हुने गाँजा र चरेश पुनः भारततर्फ तस्करी हुने गरेको अनुसन्धानबाट देखिएको छ। यसले मधेसलाई दुईतर्फी लागूऔषध कारोबारको केन्द्र बनाएको छ।
‘जिरो टोलरेन्स’ अभियान अझ कडा
मधेस प्रदेश प्रहरीका प्रवक्ता एसएसपी प्रभु ढकालका अनुसार खुला सीमाको फाइदा उठाउँदै सक्रिय रहेका लागूऔषध तस्करको सम्पूर्ण सञ्जाल पहिचान गरी कानुनी दायरामा ल्याउने उद्देश्यले ‘जिरो टोलरेन्स’ नीति लागू गरिएको हो। सीमा निगरानी, गोप्य सूचना परिचालन, संयुक्त अपरेशन र आकस्मिक चेकजाँचलाई थप प्रभावकारी बनाइएको उनले बताए।
पछिल्ला २० दिनका घटनाले मधेसमा लागूऔषध तस्करी सामान्य अपराधको सीमाभन्दा माथि पुगेर संगठित, सीमापार र हिंसात्मक अपराधमा रूपान्तरण भइसकेको संकेत दिएका छन्। प्रहरीको पछिल्लो आक्रामक अभियानले ठूलो परिणाम दिएको भए पनि खुला सीमाको दुरुपयोग रोक्न नेपाल–भारतबीच अझ प्रभावकारी समन्वय, आधुनिक सीमा निगरानी र संगठित अपराधविरुद्ध दीर्घकालीन रणनीति अपरिहार्य देखिएको छ।



