महोत्तरी । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भई फरार रहेका नेकपा (एमाले)का नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरीका अनुसार उनलाई महोत्तरीको गौशालास्थित एमाले पार्टी कार्यालयबाट पक्राउ गरिएको हो। फरार अवस्थामा रहेका महतो उक्त कार्यालयमा लुकेर बसेको सूचनाका आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
यसअघि उच्च अदालत जनकपुरले महोत्तरी जिल्ला अदालतको फैसला उल्टाउँदै लक्ष्मी महतो (कोइरी)लाई असई थमन विक हत्या प्रकरणमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो।
यो घटना २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा भएको थियो। उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगिँदै गरेका सशस्त्र प्रहरीका असई थमन विकको बाटोमै हत्या गरिएको आरोपमा लक्ष्मी महतोसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले महतोलाई पक्राउ गरेको हो। अब उनलाई अदालतको आदेशअनुसार कैद सजाय भुक्तानका लागि सम्बन्धित कारागार पठाइने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



