काठमाडौं । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ सुटुक्क बारा–पर्साको सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको खुलेको छ । तर, उनको यस भ्रमणबारे गृहमन्त्रीको सचिवालयदेखि बारा र पर्साको प्रहरी प्रशासनसम्म अनभिज्ञ देखिएको छ ।
जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न महाधिवेशनमा सहभागी भएपछि गृहमन्त्री गुरुङ शुक्रबार राति चितवनको माडी–ठोरी नाका हुँदै पर्साको ग्रामीण क्षेत्रमा पुगेका थिए । शनिबार उनले बारा–पर्साका विभिन्न सीमावर्ती बस्तीको निरीक्षण गरी स्थानीयसँग अन्तरक्रिया गरेर फर्किएका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार गृहमन्त्री गुरुङ मास्क, टोपी, हाफ टिसर्ट र पाइन्ट लगाएर सामान्य नागरिकको भेषमा सीमाक्षेत्र पुगेका थिए । उनले पर्सा–बारा सीमाअन्तर्गत जानकी टोला, मटिअर्वा र अलौँलगायत क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय ज्येष्ठ नागरिकसँग सीमा सुरक्षा, जनजीवन र स्थानीय समस्याबारे कुराकानी गरेका थिए ।
तर, गृहमन्त्रीको उक्त भ्रमणबारे पर्सा र बाराका सुरक्षा निकाय भने बेखबर देखिएका छन् । पर्सा प्रहरी प्रशासनका एक स्रोतले रातोपाटीसँग भने, “यसबारे हामीलाई कुनै जानकारी छैन।”
गृहमन्त्रीको सचिवालयले पनि भ्रमणबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन । उच्च सुरक्षा संवेदनशील मानिने सीमाक्षेत्रमा गृहमन्त्रीको गोप्य शैलीमा भएको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणको उद्देश्य र त्यसबाट प्राप्त निष्कर्षबारे भने गृह मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।



