सर्लाही । सर्लाहीको मलंगवामा ठूलो परिमाणमा भण्डारण गरेर राखिएको फर्सीको बीउ प्रहरीले बरामद गरेको छ। बरामदका क्रममा केही व्यक्तिले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक सेल अश्रुग्यास प्रहार गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ स्थित कृष्णमन्दिर नजिक रहेको नवीनकुमार यादवको ‘दिनकर सेल्स सप्लायर्स’मा अवैध रूपमा फर्सीको बीउ राखिएको सूचना पाएपछि शनिबार राति संयुक्त टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको टोलीले आइतबार गोदाममा खोजतलास गर्दा ७५ बोरा फर्सीको बीउ फेला पारेको थियो। त्यसपछि ती बीउ नियन्त्रणमा लिएर बरामद प्रक्रिया सुरु गरिएको थियो।
तर, सोही क्रममा घटनास्थलमा जम्मा भएका केही व्यक्तिले सुरक्षाकर्मीमाथि ढुंगा हानेका थिए। ढुंगा प्रहारबाट सशस्त्र प्रहरीको एउटा ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
स्थिति बिग्रिन थालेपछि भीड हटाउन सशस्त्र प्रहरीले एक सेल अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि अवस्था सामान्य बनेको र घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।
बरामद गरिएको बीउ थप कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवामा बुझाइएको छ। बीउ कहाँबाट ल्याइएको हो र आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्र भएकाले सर्लाहीमा बेला–बेलामा बीउबिजन तथा अन्य सामानको अवैध कारोबार हुने गरेको भन्दै सुरक्षा निकायले निगरानी थप कडा बनाउने जनाएको छ।



