सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिन आउने सेवाग्राहीको भीडले स्थानीयलाई हैरान बनाएको छ । दैनिकजसो ठूलो संख्यामा सेवाग्राही उपस्थित हुँदा बिहानैदेखि लामो लाइन लाग्ने अवस्था सामान्यजस्तै बनेको छ। नागरिकता बनाउने, प्रतिलिपि लिने र अन्य प्रशासनिक कामका लागि आउनेहरूले घण्टौं पर्खनुपर्ने बाध्यता छ ।
तर भीड मात्र समस्या होइन कर्मचारीको व्यवहार र ढिलासुस्तीपूर्ण सेवा प्रक्रियाले सेवाग्राही थप मारमा परेका छन् । नागरिकता फाँटमा कार्यरत कर्मचारी नवराज अधिकारीसहितका कर्मचारीहरूले सेवाग्राहीसँग दुर्व्यवहार गर्ने, सामान्य सोधपुछमै झर्किने, हप्काउने र अनावश्यक रूपमा ढिलासुस्ती गर्ने गरेको गुनासो सेवाग्राहीको छ । उनीहरूले ल्याएको कागज हेर्दै नहेरी “तल जाउ, माथि जाउ, यता जाउ, उता जाउ” भन्दै दिनभर दुःख दिने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले सेवाग्राहीको संख्या अत्यधिक बढेकाले व्यवस्थापनमा समस्या देखिएको स्वीकार गरेका छन् । कर्मचारी अभाव र सीमित स्रोत साधनले सेवा प्रवाहमा चुनौती रहेको उनको भनाइ छ । तर सेवाग्राही भने कर्मचारीले कार्यालय प्रमुखको निर्देशनसमेत बेवास्ता गर्ने आरोप लगाउँछन् ।
गत हप्ताको एउटा घटनाले प्रशासनको चित्र नै देखाउँछ : कविलासीकी एक महिला आफ्नो आमाको नागरिकताको प्रतिलिपि लिन प्रशासन कार्यालय पुगिन् । चार/पाँच दिनको दौडाइपछि प्रतिलिपि त पाइन्, तर कर्मचारीले नागरिकतामा ठेगाना नै अर्को लेखिदिए । ठेगाना गलत भएपछि सच्याउन उनी पुन: प्रशासन कार्यालय धाइन् । तर कर्मचारीले उनलाई सहायक प्रमुख जिल्ला अधिकारी कहाँ त कहिले प्रमुख प्रशासकीय अधिकृत कहाँ पठाइरहे काम भने हुन सकेन ।
आठ दिनसम्म दौडिएपछि उनी सहायक प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा पुगिन् र आफ्नो दुःख राखिन् । तर सहायक प्रमुख जिल्ला अधिकारीले उनको कुरा नबुझेर उल्टै ‘हप्काउन’ थाले । त्यसपछि त्यहाँ उपस्थित अर्का सेवाग्राहीले “दिदी नागरिकताको प्रतिलिपिमा ठेगाना गलत भएपछि सच्याउन आउनु भाको हो” भनी बुझाएपछि मात्र सहायक प्रमुखले कागजात राम्रोसँग हेरे र वडा अध्यक्षलाई फोन सम्पर्क गरी काम गर्ने भन्दै फेरि प्रमुख प्रशासकीय अधिकृतकहाँ पठाइदिए । उक्त महिलाले आफू आठ दिनदेखि यसरी नै दौडिरहेको बताइन् ।
सेवाग्राहीहरूले कर्मचारीको यस्तो व्यवहारबारे कार्यालय प्रमुखसमक्ष उजुरी राख्दा पनि कारबाही त परको कुरा, कर्मचारीले निर्देशनै नटेर्ने गरेको गुनासो गरेका छन् । एक सेवाग्राहीले भने, “लामो समयदेखि यस्तै समस्या छ, बिहानैदेखि लाइनमा बस्दा पनि पालो आउन घण्टौं लाग्छ, कहिलेकाहीँ त कामै नभई फर्किनुपर्छ ।”
जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख घिमिरेले भीडको व्यवस्थापनमा समस्या रहेको स्वीकार गरे पनि सेवाग्राहीको यात्रा भने सहज हुन सकेको छैन । प्रशासनले समाधानको प्रयास गरिरहेको जनाए पनि सर्वसाधारणले सेवा प्रक्रियालाई झन्झटमुक्त र मर्यादित बनाउन माग गरेका छन् ।



