सर्लाही, चैत्र १६ । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको कर्मचारी संगठनको प्रारम्भिक कार्य समिति भंग गरिएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले शासकीय सुधारअन्तर्गत राजनीतिक ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेपछि समितिले उक्त निर्णयको स्वागत गर्दै आजदेखि लागू हुने गरी आफूहरू भंग भएको जनाएको हो ।
परियोजनाले जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को चैत्र १३ गते बसेको बैठकले स्वीकृत गरेको सयबुँदे शासकीय सुधार कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना तथा मितव्ययितासम्बन्धी बुँदा नं. १२ मा दलगत ट्रेड युनियनहरू खारेज गर्ने उल्लेख गरिएको छ ।
सोही सरकारी निर्णयलाई समर्थन गर्दै वन परियोजनाको कर्मचारी संगठनले आफ्नो प्रारम्भिक कार्य समिति विघटन गरेको स्पष्ट पारेको छ ।
समितिका सचिव युवराज कार्की र कार्यवाहक अध्यक्ष प्रदीप अर्यालद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कर्मचारी युनियनले पनि आफ्नो विघटनको घोषणा गरिसकेको छ ।



