सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सर्लाही क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार नितिमा कार्कीविरुद्ध चुनावको मुखमा भ्रामक प्रचार गरिएको पाइएको छ । आफू संलग्न नै नभएको घटनासँग जोडेर सामाजिक सञ्जाल तथा केही मिडियामार्फत तथ्यहीन सामग्री प्रचार गरिएको भन्दै कार्कीले कानुनी उपचार खोज्ने बताएकी हुन् ।
चुनाव नजिकिँदै गर्दा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले पूर्णतया झुटो र भ्रमपूर्ण सामग्री फैलाइएको कार्कीको भनाइ छ । आफू कुनै पनि प्रकरणमा संलग्न नरहेको स्पष्ट पार्दै उनले आफ्नो राजनीतिक उचाइ घटाउने नियोजित षड्यन्त्र भइरहेको दाबी गरिन् ।
‘चुनाव नजिकिँदै गर्दा मेरो राजनीतिक उचाइ घटाउने र आम मतदातालाई भ्रमित पार्ने कुत्सित उद्देश्यसहित गरिएको षड्यन्त्रपूर्ण प्रचारको कडा शब्दमा भर्त्सना गर्दछु,’ कार्कीले भनिन्, ‘तथ्यहीन र अप्रमाणित सामग्रीलाई सनसनीपूर्ण बनाउने कार्य तत्काल रोक्न अनुरोध गर्दछु।’
यस्ता गतिविधि नरोकिए साइबर अपराध तथा मानहानीसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन बाध्य हुने उनले चेतावनीसमेत दिएकी छन् । ‘झुटको आयु लामो समय टिक्दैन,’ भन्दै मतदाता र समर्थकलाई भ्रामक प्रचारबाट विचलित नहुन आग्रह गरिन् ।
सर्लाही–१ मा पछिल्लो समय कार्कीको पक्षमा माहोल बनेको बताइएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले क्षेत्र भ्रमण गरेपछि कार्कीको जित झनै सुनिश्चितजस्तै देखिएको उनको भनाइ छ । जित सुनिश्चित देखिएपछि विपक्षीहरू भ्रमपूर्ण प्रचारमा सक्रिय भएको उनले आरोप लगाइन् ।
केही दिनयता सामाजिक सञ्जालमा ‘सुन प्रकरण’सँग जोडेर सामग्री सेयर भइरहे पनि उक्त प्रक्रियामा कार्कीको नाम कतै नजोडिएको स्पष्ट छ । सफल महिला उद्यमीका रूपमा परिचय बनाएकी कार्की पैसा कमाउनका लागि होइन, समाजसेवाका लागि उम्मेदवार बनेको बताउँदै आएकी छन् ।



