सर्लाही । तस्करी, लागूऔषध ओसारपसार र अवैध गाँजा खेतीका कारण लामो समयदेखि बदनाम हुँदै आएको सर्लाही जिल्लामा पछिल्ला महिनाहरूमा प्रहरीको कडाइले उल्लेखनीय परिवर्तन देखिन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र बहादुर खड्काको नेतृत्वमा अपराध नियन्त्रण, तस्करी नियन्त्रण तथा लागूऔषध विरुद्ध सशक्त अभियान सञ्चालन भइरहेको छ । सीमाक्षेत्रदेखि शहरी बस्तीसमेतमा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म दर्जनौँ तस्करलाई अवैध सामानसहित नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइसकिएको छ । ‘सर्लाहीलाई अपराधरहित र तस्करीमुक्त जिल्ला बनाउने हाम्रो लक्ष्य हो,’ एसपी खड्काले भने, ‘सानो मात्रामा भए पनि अवैध कारोबारमा संलग्न पाइए कडा कानुनी कारबाही हुन्छ ।’
लागूऔषध विरुद्धको अभियान अन्तर्गत सर्लाही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध हिरोईन बरामद गरेको छ ।
मङ्सिर २७ गते अन्दाजी ६ बजे लालबन्दी नगरपालिका–५ डाँडा टोलस्थित सुवास लामिछानेको नवनिर्माणाधीन घरमा हिरोईन लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
खानतलासीका क्रममा इश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भई हाल लालबन्दी–५ बस्दै आएका ३४ वर्षीय सुवास लामिछानेलाई सूचना पुर्जी दिई घरको भुईँ तलाका कोठाहरू तलासी लिँदा पश्चिम – दक्षिणतर्फ रहेको कोठाको पूर्वी देवालमा रहेको ईँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाएर लुकाई राखिएको अवस्थामा हिरोईन जस्तो देखिने सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय व्यक्तिहरूको रोहबरमा नेपाल सरकारबाट मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त पदार्थको तौल २१२ ग्राम रहेको पुष्टि भएको हो । प्रहरीले सोही परिमाणको हिरोईनसहित सुवास लामिछानेलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका लामिछानेमाथि लागु औषध सम्बन्धी कसूरमा सम्मानित अदालतबाट १० दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीमा थप अनुसन्धान भइरहेको छ ।
यसअघि पनि प्रहरीले लालबन्दी नगरपालिका–१४ माईस्थानसहित आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा करिब ४० बिघा क्षेत्रफलमा फैलिएको अवैध गाँजा खेती फडानी तथा नष्ट गरेको थियो । उक्त अभियानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी १३० जनाको संयुक्त टोली परिचालन गरिएको थियो ।
एसपी खड्काका अनुसार लागूऔषध सेवनकर्ता, ओसारपसारकर्ता र यसको जालो फैलाउने समूहविरुद्ध काउन्सिलिङ, निगरानी र कानुनी कारबाहीलाई सँगसँगै अघि बढाइएको छ ।
‘लागूऔषध र तस्करीले समाजमा अन्य अपराध जन्माउने भएकाले यसको जडमै प्रहार गरिरहेका छौँ,’ उनले भने ।



