सर्लाही नापीमा जग्गा ‘उडाएर’ ९ लाख असुलीको प्रयास? पीडित चौधरीले लगाए अमिनमाथि गम्भीर आरोप

सर्लाही । मलंगवा नापी कार्यालयमा हालसाबिक मिलानको नाममा भएको मनपरी र भ्रष्टाचारको अर्को चर्को प्रकरण सार्वजनिक भएको छ । चक्रघट्टा गाउँपालिका–५ पडरिया निवासी विजय कुमार चौधरीले नापीका अमिन रोशन यादवमाथि आफ्नो जग्गा कटौती गरी ठुलो अन्याय गरेको गम्भीर आरोप लगाएका छन् ।

चौधरीका अनुसार १५ वर्षअघि साविक मलंगवा नपा–३ ‘क’ किता नं. २१६३, क्षेत्रफल ०–१–११–१५ (चारकिल्लासहित) जग्गा किनेपछि उनी १२ वर्षदेखि त्यहीँ घर बनाएर बसोबास गर्दै आएका छन् । तर दक्षिणतर्फको जग्गा हालसाबिकका क्रममा अमिन यादवले “क्षेत्रफल जस्ताको तस्तै छ” भन्दै उनलाई विश्वासमा पारेर चलाखीपूर्वक सहिछाप गराएका रहेछन् ।

बैंक धितो प्रक्रियाका लागि नापी पुुग्दा भने उनलाई ठुलो धक्का लाग्यो—नक्सामा रहेको ४ धुर जग्गा नै कटाइएको देखियो । “झुट्टा कुरा गरेर सहिछाप गराए, पछि बुझ्दा त मेरो जग्गा नै गायब पारिएको रहेछ,” चौधरीले आक्रोश व्यक्त गरे ।

उनले अमिन यादवमाथि बार्गेनिङ गर्दै मुद्दा मिलाइदिन्छु भन्दै ९ लाख रुपैयाँ मागेको आरोप पनि लगाएका छन् । चौधरीले कटाइएकै ४ धुर जग्गा फिर्ता दिलाउन तथा संलग्न कर्मचारीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

यो विवादले नापी कार्यालयको नीयतप्रति थप शंका बढाएको छ । चौधरीका अनुसार सो क्षेत्रमा अन्य सबैको नक्सा मिलानमा जग्गा बढेको छ, तर उनको मात्र क्षेत्रफल घटाइयो—यसले मनपरी, मिलेमतो र घुसतन्त्रको गन्ध झनै प्रस्ट बनाएको स्थानीयवासीको टिप्पणी छ ।

सो मुद्दा बारे नापी कार्यालय मलंगवाबाट कुनै आधिकारिक प्रतिक्रिया नआएपछि कार्यालयको भूमिका झनै विवादास्पद बन्दै गएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय