मधेशसहित चार प्रदेशका मुख्य नाकामा एसएसपी खटाइए, तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको कडाइ

सर्लाही । तस्करी नियन्त्रण र राजस्व अभिवृद्धिलाई प्राथमिकता दिँदै सशस्त्र प्रहरी बलले भारतसँग जोडिएका प्रमुख नाकामा चारजना वरिष्ठ उपरीक्षक (एसएसपी) खटाएको छ। यी अधिकारीहरू सिधै प्रहरी महानिरीक्षकको सचिवालयलाई प्रतिवेदन गर्ने गरी कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमाक्षेत्रमा जिम्मेवारी पाएका छन्।

कोशीमा दिग्विजय सुवेदी, मधेशमा माधवप्रसाद पौडेल, लुम्बिनीमा रविनराज कर्णजित र सुदूरपश्चिममा गंगाराम श्रेष्ठलाई खटाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। उनीहरूलाई सीमा सुरक्षा गुल्ममा बसेर काम गर्ने जिम्मेवारी दिइएको हो। कोशी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा (झापा) र रानी (मोरङ) मा रहेर सीमाक्षेत्रमा निगरानी गर्नेछन्। मधेश प्रदेशमा खटिएका माधवप्रसाद पौडेलले सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज (पर्सा) बाट काम गर्नेछन्।

त्यस्तै, लुम्बिनी प्रदेशमा रविनराज कर्णजितलाई रुपन्देहीको डन्डा, कपिलवस्तुको कृष्णनगर र बाँकेको जमुनाह सीमाक्षेत्रमा निगरानी गर्ने जिम्मा दिइएको छ। सुदूरपश्चिम प्रदेशमा गंगाराम श्रेष्ठले कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमाक्षेत्रमा कार्यभार सम्हाल्नेछन्।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार बदलिँदो सुरक्षा चुनौती, तस्करी नियन्त्रण र राजस्व अभिवृद्धिलाई प्रभावकारी बनाउन यी वरिष्ठ अधिकारीहरूलाई सिधै केन्द्रसँग प्रतिवेदन गर्ने गरी खटाइएको हो। स्रोतका अनुसार हालका दिनमा राजस्व संकलनमा अपेक्षित सुधार नआएपछि यस विषयमा विशेष ध्यान दिइएको हो। कतिपय जिल्लामा तस्करी समूहसँग मिलेमतो भएको आशंकामा सशस्त्र प्रहरीका केही अधिकृतमाथि पनि निगरानी बढाइएको र त्यसको पुष्टि भएमा प्रतिवेदनका आधारमा कारबाही वा पुरस्कार दिने तयारी गरिएको छ।

विगतमा राजनीतिक पहुँचका कारण तराईका सीमाक्षेत्रमा खटिएका केही अधिकृतहरूको कार्यशैलीप्रति असन्तुष्टि रहेकाले उनीहरूलाई फिर्ता बोलाउने तयारी मुख्यालयले गरेको छ। नयाँ सरकारले सीमाक्षेत्रमा देखिने गरी राजस्व छली नियन्त्रणका लागि सशस्त्र प्रहरीसहित सुरक्षा निकायहरूलाई कडाइका साथ निर्देशन दिएको छ।

यी एसएसपीहरूलाई कति समयका लागि सीमाक्षेत्रमा खटाइने भन्ने स्पष्ट नभए पनि सशस्त्र प्रहरीले उनीहरूको कार्य प्रभावकारी देखिएमा जिम्मेवारीलाई निरन्तरता दिने जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय