सर्लाही । मधेश प्रदेशको राजनीतिक तनावबीच प्रदेश प्रमुख सुमित्रा भण्डारी आकस्मिक रूपमा काठमाडौँ आइपुगी उपचारमा लागेकी छन्। उनी धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव टिकाराम उप्रेतीले जनाएका छन्।
पहिले देखि नै सुगर, प्रेसर र कोलेस्ट्रोलसम्बन्धी औषधि सेवन गर्दै आएकी भण्डारीको स्वास्थ्य समस्या एकाएक बढेपछि काठमाडौँ ल्याइएको बताइन्छ। उनको मधेश फर्कने समय तालिका भने अहिलेसम्म अनिश्चित छ।
यसअघि भण्डारीले प्रदेशसभाका सबै दलहरुलाई सरकार गठनका लागि आह्वान नै नगरी एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेशमा विरोध चर्किएको छ।
विरोधी दलका नेता तथा कार्यकर्ताहरुले प्रदेश प्रमुखको कार्यालय देखि मुख्यमन्त्री कार्यालयसम्म तोडफोड गरेका छन् भने विभिन्न मन्त्रालयमा ताला लगाएर अवरोध सिर्जना भएको छ।
उप्रेतीका अनुसार भण्डारी रातभरि जस्तै नजरबन्दमा थिइन्। लोसपाका नेताहरूले उपचारका लागि काठमाडौँ जानुछ भनेर आग्रह नगरेसम्म कार्यालय बाहिर जान दिएका थिएनन्।
“उपचारका लागि जाने जानकारी दिएपछि मात्र प्रदेश प्रमुखलाई बाहिर निस्कन दिइयो,” उप्रेतीले बताए।
यता एमाले सांसदहरू भने बर्दिबासमा भण्डारीलाई भेट गर्न पर्खिरहेका थिए। भण्डारी काठमाडौँ फर्कने क्रममा त्यहीँ गाडी रोकेर सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने पत्र हस्तान्तरण गराइ सपथ ग्रहण गराई काठमाडौँतर्फ अगाडि बढेकी थिइन्।



