भारत छिर्न खोज्दा उज्बेक महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ

सर्लाही । नेपाल–भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।

मंगलबार बिहान सशस्त्र सीमा बल ५१औं बटालियन सोनवर्षा बीओपीका जवानहरूले सर्लाहीको हनुमान चौक नजिकै पिलर नम्बर ३२६/३२ बाट दुवै जनालाई पक्राउ गरेका हुन् ।

पक्राउ परेकी महिला उज्बेकिस्तानकी ३० वर्षीया सोफिया उज्बेकोवा हुन् भने साथमा रहेका युवक सर्लाही ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुर ब्रह्मपुरीका १९ वर्षीय विकेश कुमार राय रहेको एसएसबीले जनाएको छ ।

एसएसबी कम्पनी कमाण्डर असिस्टेन्ट कमान्डेन्ट पवन खराटाका अनुसार उनीहरूलाई पक्राउ गर्दा बिना दर्ता नम्बरको इलेक्ट्रिक स्कुटी, दुई मोबाइल फोन र तीन देशका सिम कार्ड (भारत, नेपाल र उज्बेकिस्तान) बरामद गरिएको थियो । तर सोफियाको साथमा पासपोर्ट वा भिसा जस्ता कुनै आधिकारिक कागजात फेला परेन ।

प्रारम्भिक अनुसन्धानमा सोफिया उज्बेकोवा काठमाडौँ हुँदै सर्लाहीको मलंगवा पुगेकी र त्यहाँबाट सोनवर्षा सीमाना पार गरी भारतको दिल्ली जाने तयारीमा रहेको खुलेको छ । सो यात्रामा उनलाई नेपाली युवक विकेशले सहयोग गरिरहेको एसएसबीले जनाएको छ ।

दुवैजनालाई हाल थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको एसएसबीले जानकारी दिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय