सर्लाही । जनमत पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई खारेज गर्ने वा कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध शहीदको रगतलाई साक्षी राखी सचेत रहन आग्रह गरेको छ ।
संविधान दिवसको अवसर पारेर शुक्रबार सर्लाहीमा आयोजित नगर परिक्रमा तथा खबरदारी सभामा पार्टीले देश र जनताको पहिचान, अधिकार र आत्मसम्मानका लागि जीवन आहुति दिने शहीदहरूलाई माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।
कार्यक्रममा वक्ताहरूले अहिलेको संविधानले सम्पूर्ण अधिकार सुनिश्चित नगरे पनि यसले दशकौँको संघर्ष र बलिदानको परिणामस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको उल्लेख गरे । संविधानले पहिलोपटक विभिन्न समुदायको भेषभूषा, भाषा र संस्कृतिलाई आफ्नो भनेर अंगीकार गरेको भन्दै यसलाई खारेज गर्ने वा एकल जातीय, एकतन्त्रीय शासन व्यवस्था पुनःस्थापित गर्ने षड्यन्त्रविरुद्ध सतर्क रहनुपर्नेमा जोड दिए ।
जनमत पार्टीले शहीदहरूको बलिदानलाई सम्मान गर्ने र सुशासनसहित भ्रष्टाचारमुक्त समाज निर्माणका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाएको छ ।




