सर्लाही । सर्लाही प्रहरीले विशेष सुराकीका आधारमा कटुवा पेस्तोलसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा हातहतियार बोकेर हिँड्ने गरेको जानकारी पाएपछि आइतबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछमा उनले आफूसँग भएको हतियार बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महारालाई राख्न दिएको स्वीकार गरेका थिए ।
त्यसपछि प्रहरीले श्यामलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले कटुवा पेस्तोल बागमती नगरपालिका–१२ बागमती नदी किनारमा राखेको बताएका थिए । प्रहरीले उक्त स्थानबाट पेस्तोल बरामद गरेको छ ।
जिल्ला अदालत सर्लाहीले दुबैजनालाई १० दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।



