महोत्तरी । भारतमार्फत नेपाल भित्र्याइएका सञ्चारसम्बन्धी उपकरण बरामद भएपछि यसको प्रयोजनबारे गम्भीर प्रश्न उठेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करिब ४६ लाख ५० हजार रुपैयाँ बराबरको रेडियो रिसर्च युनिट (आरआरयू) बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार २३ सय मेगाहर्ज क्षमताको उक्त उपकरण किन र कसरी नेपाल ल्याइएको हो भन्ने विषयमा स्पष्ट हुन बाँकी छ । महोत्तरीस्थित सशस्त्र प्रहरीका एसपी शेरबहादुर अधिकारीको निर्देशनमा मधेश प्रदेश ०२–००१ स ५२४८ नम्बरको ई–रिक्सामा लोड गरिएको अवस्थामा ८ वटा संचार सेट बरामद गरिएको हो । बरामद उपकरणसँग आवश्यक कागजात वा बिलबिजक थिएन ।
स्वीडेनबाट कोलकाता पुगेको सामान त्यहाँबाट नेपालमा तस्करी गरी ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यस्तो उपकरण सामान्यतया टेलिकम कम्पनीका टावरमा प्रयोग हुने बताइए पनि जासुसी प्रयोजनमा समेत प्रयोग हुनसक्ने आशंका गरिएको छ । तस्करीमा संलग्न व्यक्ति नयाँदिल्लीमा रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
बरामद उपकरण र रिक्सा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वर बुझाइएको सशस्त्र प्रहरीका सहस प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । साथै, उक्त उपकरणको प्रयोजनबारे अध्ययन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत पत्राचार गरिएको उनले बताए ।



