काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यक्षमता कमजोर देखिएका तथा विवादित गतिविधिमा संलग्न ठहरिएका जिल्लाका प्रहरी प्रमुखहरूको सरुवा गर्न गृह मन्त्रालयसँग समन्वय गर्दै तयारी थालेको छ।
विशेषगरी सर्लाही, मोरङ, धनुषा, बाँके, कञ्चनपुर, रुपन्देही, मकवानपुर लगायतका जिल्लाका प्रहरी प्रमुख (एसपी)हरू फेरबदलको प्राथमिक सूचीमा परेका छन्। यीमध्ये कतिपयको कार्यकाल अझै बाँकी भए पनि उनीहरूको कमाण्ड कन्ट्रोलमाथि प्रश्न उठेसँगै सरुवा प्रक्रिया अघि बढाइएको हो।
सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काको कमाण्डमा रहेका चौकी इन्चार्जहरू घुस डिलमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि उनीमाथि गम्भीर आलोचना भएको छ। पटकपटक निलम्बनमा परेका वैद्यनाथ दास र रामबालक यादवजस्ता अधिकृतलाई महत्त्वपूर्ण चौकीको जिम्मा दिइएको भन्दै खुलेआम तस्करी संरक्षणको आरोप लागेको छ।
त्यस्तै मोरङका एसपी नारायण चिमरियाको गुट्खा चपाउँदै गृहमन्त्रीको कार्यक्रममा देखिएको भिडियो भाइरल बनेपछि उनी पनि विवादमा तानिएका छन्।
यसैगरी मकवानपुरका विश्वराज खड्का, धनुषाका नरहरि शर्मा, बाँकेका रामबहादुर घर्ती, कञ्चनपुरका खड्कबहादुर खत्री र रुपन्देहीका प्रदीप क्षेत्रीविरुद्ध पनि तस्करी, असुली तथा आपराधिक गतिविधिमा उदासिनताजस्ता गुनासा पुगेका छन्।
कञ्चनपुरमा शिक्षक हत्या, बाँके–धनुषामा तस्करीको वृद्धि, रुपन्देही र मकवानपुरमा घुमुवाहरूको नाममा अवैध असुली भइरहेको भन्दै ती जिल्लाका प्रहरी प्रमुखमाथि प्रश्न उठाइएको छ।
प्रहरी मुख्यालयले अवधी नपुगेका केही एसपीहरूलाई समेत कार्यक्षमताका आधारमा सरुवा गर्न लागिएको हो। पछिल्लो समय सरुवा टार्न केही एसपीहरू राजधानीमै नेतासम्म धाउँन थालेको स्रोतले जनाएको छ।
यसबीच पहाडी जिल्लाका एसपीहरू पनि “रेड जोन” मा परेको र केहीको कार्यकाल सकिएकाले नियमित सरुवामा ती पनि समेटिने तयारीमा रहेको जनाइएको छ।



