सर्लाहीमा सशस्त्र प्रहरीको छापा : पशुपालन फर्मबाट करोडौंको अवैध सामान बरामद

सर्लाही । सशस्त्र प्रहरी बल नेपाल र मलंगवा भन्सार कार्यालयको संयुक्त टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मा रहेको एक पशुपालन फर्ममा छापा मारेर १ करोड ५८ लाखभन्दा बढी मूल्य बराबरको अवैध कपडा र चुरोट बरामद गरेको छ।

बिहीबार राति ८:०५ बजे तुलसी पशुपालन फर्ममा गरिएको छापामारीमा ३१ पोका अवैध कपडा र प्लाटिनियम ब्रान्डका ७० कार्टुन चुरोट भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामानहरूको अनुमानित बजार मूल्य १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबर रहेको बताइएको छ।

यो कारबाही सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गणका प्रमुख एसपी देव बहादुर चन्दको नेतृत्वमा ५१ जना सुरक्षाकर्मी र भन्सार अधिकृत कमल बहादुर खड्काको टोलीमा रहेका ५ जना कर्मचारीको सहभागितामा गरिएको थियो।

डिआईजी कृष्ण ढकालले प्रदेशडायरीसँग कुरा गर्दै भने, “मधेस प्रदेशमा तस्करी नियन्त्रणको सशक्त अभियान अन्तर्गत हालसम्मको सबैभन्दा ठूलो सफलता हो यो।”

उनका अनुसार, पदभार सम्हालेको दुई महिनाभित्र नै प्रदेश २ भित्रका १७ वटा अपरेसनमार्फत १७ करोड १२ लाख ४६ हजार ४८६ रुपैयाँ बराबरको अवैध सामान र १,२८० किलो गाँजा, साथै ८२,९६६ थान ट्रामाडोल क्याप्सुल बरामद गरिएको छ।

सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एसएसपी सुरजसेन ओलीले भने, “तस्करी नियन्त्रणका लागि सुराकी प्रणाली सशक्त बनाइएको छ, निगरानीको दायरा पनि थप व्यापक पारिएको छ। आम नागरिकलाई पनि सूचना दिन हामी आह्वान गर्छौं।”

बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाइएको छ भने तस्करीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय मधेश प्रदेशमा सशस्त्र प्रहरीको सक्रियता र तस्करीविरुद्धको कारबाही उल्लेखनीय रूपमा बढेको देखिएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय