सर्लाही । सर्लाहीको ब्रम्हपुरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मनोज यादवविरुद्ध सुनियोजित तरिकाले गरिएको अडियो रेकर्डिङ काण्डमा नयाँ तथ्यहरू बाहिरिएका छन् । यादवमाथि लगाइएको आरोप कुनै स्वतःस्फूर्त घटना नभएर पूर्वयोजना अनुसारकै चरित्रहत्या प्रयास भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
स्रोतका अनुसार, अडियो रेकर्डिङमा संलग्न महिला लामो समयदेखि झोलेपोके तस्करीमा संलग्न रहेको र उनलाई प्रयोग गरेर अडियो रेकर्ड गरिएको खुलेको छ । प्रहरी स्रोतका अनुसार ती महिलाको नाम बविता महतो हो । उनी निकै पहिलेदेखि उक्त क्षेत्रमा झोलेपोके तस्करीमा संलग्न छन् र तस्करीमा निकै चालु रहेको बताइन्छ ।
प्रहरीले सार्वजनिक अडियोबारे विश्लेषण गर्दै भनेको छ— “उक्त अडियोमा न कुनै बार्गेनिङ छ, न त पैसा मागिएको छ, न तस्करीसँग सम्बन्धित संवाद ।” बरु यादवले “म पक्राउ परेका कुरामा केही गर्न सक्दिन, छानबिन गर्ने निकाय छुट्टै छ” भन्ने मात्र सुन्न सकिन्छ ।
प्रहरीको भनाइमा, सामान्य संवादलाई तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाउँदै व्यावसायिक छवि बनाएका इन्चार्ज यादवलाई बदनाम गर्ने प्रयास गरिएको हो । प्रहरीले आम जनताको फोन उठाउनै पर्छ र उनीहरूको जिज्ञासा वा प्रश्नको जवाफ दिनु प्रहरीको कर्तव्यभित्रै पर्छ ।
यो घटनालाई स्थानीय प्रहरी वृत्तमा मधेशी मूलका प्रहरीबीच आपसी बदला र गुटबन्दीको संकेत समेतका रूपमा हेरिएको छ । ब्रम्हपुरी चौकीको इन्चार्ज बनेका मनोज यादवविरुद्ध ठूला तस्कर र घुसखोर प्रहरीहरूको मिलेमतोमा हमला गरिएको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले अडियो बाहिरिएपछि यादवलाई बोलाएर सोधपुछ गरिसकेको जनाएको छ । सोधपुछ एवं स्पष्टीकरणपछि प्रहरीको निष्कर्ष स्पष्ट छ — “घटनाको वास्तविकता सामाजिक सञ्जालमा फैलिएको जस्तो होइन ।” प्रहरी प्रशासनले स्पष्ट रूपमा चेतावनी दिएको छ — सत्य तथ्य नबुझी अफवाह फैलाउने, सुनियोजित हमला गर्नेहरूमाथि कडा कानुनी कारबाही हुनेछ ।
असई मनोज यादवले पनि आफूविरुद्ध गरिएको “असत्य, गलत र नियतबस गरिएको आरोप” प्रति आपत्ति जनाउँदै कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेको जनाएका छन् ।
यद्यपि, प्रहरीको अनुसन्धानले मनोज यादवको कुनै गल्ती नभएको स्पष्ट पारे पनि उल्टै उनलाई कारबाही गरेर गणमा बुझाइएको बुझिएको छ । प्रहरीलाई कसैले फोन गरेर गुनासो गर्दा त्यो गुनासो सुन्नु र जवाफ दिनु प्रहरीको कर्तव्य हो । यही कर्तव्य निर्वाह गरेको कारण उनलाई सजाय दिनु अन्यायपूर्ण भएको प्रहरी वृत्तका स्रोतले जनाएका छन् । यो घटनाले साना दर्जाका प्रहरीहरूको मनोबल कमजोर भएको स्रोतको भनाइ छ ।
एक समाजसेवीले भनेका छन् — “मनोज यादव जस्तो हिम्मतिलो र आटिलो प्रहरी प्रहरी संगठनमा कमै होलान् । तर, यिनै इमान्दार प्रहरीहरूलाई गलत तरिकाले फसाइने घटना हुनु नै नेपालको कानुनी व्यवस्थाको विडम्बना हो ।”



