सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–८ स्थित सामाजिक सुरक्षा शाखा कार्यालयमा भएको चोरी प्रकरणमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ४ गते राति कार्यालयमा पसेका चोरहरूले CPU, Monitor, Keyboard, Revolving कुर्सी, Wi-Fi राउटर, मल्टि प्लग र प्रिन्टरलगायतका सरकारी सामग्री चोरी गरेका थिए ।
भोलिपल्ट बिहान चोरीको सूचना प्रहरी चौकी कबिलासीमा पुगेसँगै इलाका प्रहरी कार्यालय हरिपुरको टोली घटनास्थल पुगेको थियो । अनुसन्धानको क्रममा नगरपालिका नजिकैको नालामा Cannon कम्पनीको Image CLASS MF 3010 मोडलको कालो प्रिन्टर सिसा फुटेको अवस्थामा भेटिएको हो ।
CCTV फुटेज र प्राविधिक अनुसन्धानपछि प्रहरीले कबिलासी नगरपालिका–८ का २२ वर्षीय रोहित मिश्र, ४० वर्षीय सुरेन्द्र राय, २० वर्षीय राजु पासवान, २२ वर्षीय ललका पासवान र १९ वर्षीय दिपक पासवानलाई पक्राउ गरेको छ । मुख्य अभियुक्त रोहित मिश्रको घर खानतलासी गर्दा चोरी गरिएका सामग्री – HP कम्पनीको CPU, Dell कम्पनीको Monitor, Viewsys कम्पनीको Keyboard, Revolving कुर्सी, Wi-Fi राउटर र मल्टि प्लग बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि चोरी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जानकारी दिएको छ ।



