भुक्तानी रोकेर कमिसन मागिएको आरोपमा एकडारा गाउँपालिकामा तालाबन्दी

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा निर्माण सम्पन्न भइसकेका योजनाको भुक्तानी रोकिनु र कर्मचारीद्वारा ‘कमिसन’ माग गरिएको आरोपसहित निर्माण व्यवसायीहरूले मंगलबार पालिका कार्यालयमा तालाबन्दी गरेका छन्।

अनु कन्स्ट्रक्सनका सञ्चालक भवेस मिश्रसहित स्थानीय निर्माण व्यवसायीहरूले पालिकाको प्रमुख प्रशासनिक अधिकृत, लेखा प्रमुख र इन्जिनियर मिलेर भुक्तानी प्रक्रिया अवरुद्ध गराएको आरोप लगाउँदै तालाबन्दी गरेका हुन्।

व्यवसायी मिश्रका अनुसार गाउँपालिकाको वडा नं. ५ मा असार १५ अघि नै पर्खाल निर्माण कार्य सम्पन्न गरी सम्बन्धित कागजातसहित फाइल पेश गरिएको थियो। तर पालिकाका कर्मचारीले “कमिसन नबुझाए भुक्तानी रोक्ने” चेतावनी दिँदै रकम माग गरेको उनी बताउँछन्।

“काम सकेर फाइल बुझाउँदा कर्मचारीले भने– ‘काम अनुसारको पैसा होइन, अहिले नै कमिसन चाहिन्छ’, मैले तत्काल छैन भनेपछि फाइल रोकिएको हो,” मिश्रले बताए।

व्यवसायीहरूका अनुसार इन्जिनियर रोहित झा, लेखा प्रमुख निरज चौधरी र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको मिलोमतोमा ‘कमिसन दिनेहरू’लाई मात्र चेक वितरण गरिएको हो।

“हामी फाइल बोकेर पालिकामा धाइरहेका थियौं, तर कमिसन बुझाउनेलाई भने चुपचाप जनकपुरबाट चेक दिइएको छ,” एक व्यवसायीको भनाइ छ।

यस्तै, करिब १० दिनदेखि पालिकाका अधिकतर कर्मचारीहरू कार्यालय नआएको र भुक्तानी प्रक्रिया अपारदर्शी बन्दै गएको आरोप उनीहरूले लगाएका छन्।

यसअघि पनि एकडारामा बजेट कार्यान्वयन र निर्माण प्रक्रियामा अनियमितता र अपारदर्शिता रहेको भन्दै स्थानीय नागरिक समाजले सार्वजनिक रूपमा विरोध जनाउँदै आएको थियो।

तालाबन्दीमा संलग्न व्यवसायीहरूले दोषी कर्मचारीहरूलाई कारबाही गर्न माग गरेका छन्। यता सम्पर्क गर्न खोज्दा इन्जिनियर झा, लेखा प्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृत जोशीसँग प्रतिक्रिया लिन सकिएको छैन।

यद्यपि लेखा प्रमुख निरज चौधरीले भने आफु २३, २४ र २५ गते पालिकाबाहिर कार्यमा रहेको स्वीकार गरेका छन्।

यता स्थानीयवासीहरूले बजेट वितरण, भुक्तानी प्रक्रिया र निर्माण कार्यमा बढ्दो सञ्जालगत अनियमितताप्रति चिन्ता व्यक्त गर्दै तत्काल छानबिन गर्न माग गरेका छन्।

हाल तालाबन्दी जारी रहेकाले पालिका कार्यालयको दैनिक सेवा प्रवाह अवरुद्ध भएको छ। व्यवसायीहरूले आफ्ना माग पुरा नभएसम्म तालाबन्दी कायमै रहने चेतावनी दिएका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय