जनकपुरधाम । सत्तारुढ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि दुर्व्यवहार गर्ने सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्र खड्कालाई कारबाही नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गर्दै जसपाका केन्द्रिय तथा प्रदेश नेताहरुले प्रदेश अध्यक्ष यादवले सर्लाहीका एसपीसँग जनगुनासोका विषयमा कुरा राख्दा जातीय अपमानसहित गालीगलौज गरिएको दाबी गरे । नेताहरुले ‘मधेशी’ भन्दै गाली गर्ने एसपीलाई कारबाही गर्न माग गर्दै उल्टै मुद्दा लगाउने प्रयास भए आन्दोलनमा जाने चेतावनी दिए ।
‘एसपीले अध्यक्ष यादवलाई फोनमा गालीगलौज मात्र गरेनन्, मधेशी भनेर पनि अपमान गरे,’ पत्रकार सम्मेलनमा जसपा नेताहरुले भने, ‘सत्तारुढ दलको प्रदेश अध्यक्षमाथि दुर्व्यवहार हुने हो भने आम नागरिकको अवस्था के होला ?’
गत असार १९ गते राति सर्लाहीको पूर्वाधार विकास कार्यालयमा भएको घटनालाई लिएर एसपी खड्कासँग अध्यक्ष यादवको फोनमा भनाभन भएको थियो । कमिसनको मात्रै काम भइरहेको भन्ने जनगुनासो लिएर यादवले एसपीलाई फोन गर्दा एसपीले गालीगलौज गर्दै जातीय टिप्पणी गरेको आरोप जसपाको छ ।
‘असार मसान्तमा कमिसनको मात्रै कारोबार हुन्छ, प्रहरी प्रशासन त्यसको संरक्षक बन्छ,’ जसपाका नेताहरुले भने, ‘यस्तो प्रवृत्तिविरुद्ध बोल्नु जनताको पक्षमा बोल्नु हो ।’
जसपाले एसपीमाथि कारबाही र मुद्दा खारेजीको माग गर्दै आन्दोलनको चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा मधेश प्रदेश उपाध्यक्ष निर्मला यादव, केन्द्रीय नेता राजकिशोर यादव, उर्मिला यादव, धनुषा र महोत्तरी अध्यक्षलगायत नेताहरुको उपस्थिति थियो ।




