सर्लाही । सर्लाहीमा पूर्व प्रदेश सभा सदस्य अशोक यादव र जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्र बहादुर खड्काबीचको फोन संवाद गालीगलौजमा परिणत भएपछि स्थिति तनावपूर्ण बनेको छ ।
बिहीबार राति यादवलाई पक्राउ गर्न सलेमपुरस्थित घरमा पुगेको प्रहरी टोलीलाई स्थानीयको आक्रोश खेप्नुपरेको हो । ढुंगामुढा भएपछि प्रहरीको प्रयोग गरेको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।
घटनाको शृंखला भने केही दिनअघिबाट सुरु भएको हो । पूर्वाधार विकास कार्यालय, सर्लाहीमा देखिएको अनियमिततासँग जोडिएको विवादका कारण यो स्थिति उत्पन्न भएको हो । पूर्व सांसद यादवले उक्त कार्यालयमा प्रहरीको संरक्षणमा भ्रष्टाचार भएको गम्भीर आरोप लगाएका छन् । ‘प्रति उपभोक्ता ५० हजार रुपैयाँ घूस मागिएको छ,’ उनले दाबी गर्दै भने, ‘मैले उपभोक्ताको गुनासो लिएर एसपी साबलाई फोन गर्दा उल्टै गाली सुन्नुपर्यो, त्यसपछि मैले पनि जवाफ फर्काएँ ।’
प्रदेश सरकारले सञ्चालन गरेको निजी आवास कार्यक्रमअन्तर्गत आठ घरको निर्माण भए पनि उपभोक्ताले भुक्तानी नपाएको र घूस मागिएको गुनासो उनीसँग पुगेपछि एसपीलाई फोन गरेको यादवले बताए । तर, पूर्वाधार विकास कार्यालयका प्रमुख विजय यादव भने फरक धारणा राख्छन्। उनका अनुसार निर्माण कार्य अझै पूरा नभएको र कागजात अपूर्ण भएकाले भुक्तानी रोकिएको हो ।
फोनमै एसपीलाई अपशब्द प्रयोग गरेकाले सांसद यादवविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ । तर, पक्राउ गर्न गएका बेला गाउँलेको ढुंगामुढाले गाडीमा क्षति पुगेको र यादव फरार रहेको डिएसपी राईले बताए ।
घटनाले प्रदेशस्तरीय नेताको भूमिका, प्रहरी प्रशासनको शैली र जनप्रतिनिधि प्रशासनबीचको समन्वय अभावलाई उजागर गरेको छ ।
पूर्व सांसद यादवले एसपी योगेन्द्र बहादुर खड्कालाई उपभोक्ताको गुनासो राख्दा उल्टै गाली सुन्नुपरेको र त्यसपछि एसपीले झन् प्रहरी नै पठाएर पक्राउ गर्न प्रयास गरेको आरोप लगाएका छन् ।



