सर्लाही । “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ गोडैता नगरपालिकामा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ उल्लासपूर्वक सम्पन्न भएको छ ।
नगर प्रमुख देबेन्द्र कुमार यादवको अध्यक्षतामा गोडैता–४ स्थित एक खेतमा आयोजित कार्यक्रममा किसान, स्थानीयवासी, कृषि प्राविधिक, महिला समूह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले परम्परागत भाका र नाचगानसँगै खेतमा रोपाइँ गरेर दिवसलाई उत्सवमय बनाएका थिए । प्रमुख यादवले कृषि आत्मनिर्भरताको मूल आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले उत्पादनमा सघनता ल्याउने विश्वास व्यक्त गरे ।
धान दिवसकै अवसरमा खेतमै रोपाइँ प्रतियोगिता, नयाँ प्रविधिको प्रयोग प्रदर्शन र किसानबीच अनुभव आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।
गोडैता नगरपालिकाले आगामी दिनमा प्रविधिमैत्री कृषि प्रणालीमार्फत स्थानीय उत्पादनमा वृद्धि र किसानको जीवनस्तर उकास्न थप योजना अघि बढाइने जनाएको छ ।



