मलङ्वा । हुलाकी सडक विस्तारको क्रममा मलङ्वाको राजश्री चोकदेखि मुसैली खण्डसम्म सडक छेउमा रहेका विद्युत पोल स्थानान्तरण गर्नुपर्ने भएपछि मलङ्वा आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण मलङ्वा वितरण केन्द्रका अनुसार असार १४ गते शनिबार बिहान ७ बजेबाट दिउँसो १ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध तथा अनियमित हुने छ । सडक विस्तारको काम सहज बनाउन पोल सार्नुपर्ने भएकाले सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
विद्युत सेवा अवरुद्ध हुने क्षेत्रमा मलङ्वा वडा नं. २, एसपी कार्यालय, खानेपानी कार्यालय, मुसैली, कृष्ण मन्दिर, भारसर लगायतका क्षेत्रहरू पर्छन् । आवश्यकता अनुसार अन्य क्षेत्रहरूमा पनि विद्युत सेवा प्रभावित हुन सक्ने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले सेवा अवरुद्ध हुँदा उपभोक्ताहरूले भोग्नुपर्ने असुविधाप्रति क्षमायाचना गरेको छ ।
त्यसैगरी, प्राधिकरणले सम्पूर्ण इन्टरनेट सेवा प्रदायक (ISP), नेपाल टेलिकम तथा केबल टिभी अपरेटरहरूलाई सम्बन्धित पोलहरूमा रहेका आफ्ना तारहरूको व्यवस्थापन समयमै गर्न अनुरोध समेत गरेको छ ।
काम समयअगावै सम्पन्न भएमा विद्युत सेवा सोहीअनुसार पुनः सुचारु गरिने प्राधिकरणले जानकारी दिएको छ ।



