गाउँसभा अघि नै योजना ‘बिक्री’, विष्णु गाउँपालिकामा असुलीको सुनियोजित जालो

मलंगवा । सर्लाहीको विष्णु गाउँपालिकामा योजना छनोटदेखि कार्यान्वयनसम्मको प्रक्रियामा व्यापक अनियमितता भइरहेको आरोप लागेको छ । प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटा र गाउँपालिका अध्यक्ष जवाहर रायको मिलेमतोमा योजनाहरू ‘बिक्री’ गरिने र योजनामा व्यापक असुली हुने गरेको स्थानीयहरूको दाबी छ ।

गाउँपालिकामा योजना अघि बढाउन कर्मचारी वा जनप्रतिनिधिसँग ‘सेटिङ’ नगरी फाइल चल्न नसक्ने अवस्था रहेको स्रोतहरूको भनाइ छ । योजनाको लागत अनुसार २५ देखि ३० प्रतिशतसम्म रकम असुली हुने गरेको उनीहरूको दाबी छ ।

गाउँसभा सुरु हुनुअघि नै योजनाका शीर्षकहरू पूर्वनिर्धारित गरिने र ती योजनाहरू आर्थिक लेनदेनको आधारमा बिक्री गरिने गरेको स्थानीयहरू बताउँछन् । योजनाको छनोट प्रक्रियामा स्थानीय जनप्रतिनिधिको सुझाव भन्दा बढी आर्थिक चलखेल निर्णायक हुने गरेको उनीहरूको भनाइ छ ।

योजनाको नाममा कमिसनको प्रतिशत तय गरिने र त्यो नतिरी कुनै प्रस्ताव अघि नबढ्ने अवस्था रहेको एक स्थानीय स्रोतले प्रदेश डायरी सँग भन्यो । “अहिले योजनाको मूल्य कति हो भन्दा पनि, त्यसमा कति प्रतिशत उठ्छ भन्ने हिसाबले अघि बढ्छ,” स्रोतको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत सापकोटा र अध्यक्ष रायसँग यस विषयमा प्रतिक्रिया लिन प्रयास गर्दा उनीहरूसँग सम्पर्क हुन सकेन ।

स्थानियवासीहरूले यस्ता अनियमिततामाथि तत्काल छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय