सर्लाही — स्वास्थ्य सेवा प्रविधिकरणको नाममा सर्लाहीमा खरिद गर्न लागिएको EHMIS (Electronic Health Management Information System) सफ्टवेयर खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
उजुरीपछि स्वास्थ्य कार्यालय सर्लाहीले सफ्टवेयर खरिद प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । सशर्त कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि हेल्थ पोस्टहरूको रेकर्ड तथा रिपोर्टिङ अनलाइनमार्फत गर्ने उद्देश्यले १८ लाख रुपैयाँको सफ्टवेयर खरिद योजना अघि बढाइएको थियो ।
मधेश प्रदेश सरकारको जनसंख्या मन्त्रालयमार्फत प्रदेशभरका आठवटै जिल्ला स्वास्थ्य कार्यालयका लागि समान दरमा १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो । पत्राचारपछि प्रक्रिया अघि बढाइएकोमा सर्लाहीमा अनियमितता भएको आरोप उठेपछि अख्तियारमा उजुरी पुगेको हो ।
स्वास्थ्य कार्यालय सर्लाहीका एक कर्मचारीका अनुसार हाल खरिद प्रक्रिया पूर्ण रूपमा रोकिएको छ । सफ्टवेयरमार्फत स्थानीय तहका स्वास्थ्य चौकीहरूबाट सम्पूर्ण कार्य विवरण अनलाइन प्रविष्ट गर्ने योजना रहेपनि अब समय अभावका कारण प्रक्रिया सम्पन्न गर्न असम्भवजस्तै देखिएको छ ।
असार मसान्त नजिकिँदै जाँदा समय प्रयाप्त नरहेकाले खरिद प्रक्रिया अगाडि नबढ्ने र सो बजेट फ्रिज हुने निश्चितजस्तै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उजुरी, अनियमितता र ढिलासुस्तीका कारण सूचना प्रविधिमार्फत स्वास्थ्य सेवा व्यवस्थापन गर्ने सरकारी प्रयास अन्यौलमा परेको छ ।



