सर्लाहीको हरिवनमा नेपाल–भारत सीमा सुरक्षासम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न

सर्लाही – सर्लाही, महोत्तरी र रौतहट जिल्लाका पदाधिकारी तथा भारतको सीतामढी जिल्लाका सम्बन्धित अधिकारीहरूको संयुक्त सीमा समन्वय बैठक शुक्रबार सर्लाहीको हरिवनस्थित होटल बगैंचामा सम्पन्न भएको छ ।

बैठकमा नेपालतर्फबाट सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको नेतृत्वमा महोत्तरी र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू, तीनै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरू र भन्सार कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

भारततर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारी श्री रिची पाण्डेको नेतृत्वमा प्रहरी अधीक्षक, भन्सार प्रमुख तथा सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूको सहभागिता रहेको थियो ।

दुई पक्षबीचको बैठकमा खुला सिमानाका कारण हुन सक्ने चोरी–तस्करी, लागू औषध तथा मदिराको अवैध ओसारपसार, अवैध मुद्रा कारोबार नियन्त्रण, सूचनाको आदानप्रदान लगायतका विषयमा सौहार्दपूर्ण वातावरणमा विस्तृत छलफल भएको हो । बैठकले दुवै मुलुकका सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरूबीच समन्वयलाई थप सशक्त बनाउने सहमति गरेको छ ।

बैठकमा उठेका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय