सर्लाही । मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयको सहयोग र जिल्ला प्रहरी कार्यालय मलङ्गवा सर्लाहीको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह –२०८२” को उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम बिहिवार बिहान ७ बजे मलङ्गवाको जिविस चोकबाट सुरु भई प्रभातफेरी सहित बजार परिक्रमा गरी मलङ्गवा नगरपालिकाको चोकमा सभामा परिणत भएको थियो ।
औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह र प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पानसमा बत्ती बालेर र “ट्राफिक सप्ताह २०८२” लेखिएको ब्यानर जोडिएको बेलुन उडाएर सम्पन्न गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ र विशिष्ट अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले दुर्घटना न्यूनिकरणका लागि सबै सरोकारवालाको साझा र समन्वित प्रयास आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
समारोहको अध्यक्षता जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा मलङ्गवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी शाह, सशस्त्र प्रहरी बल नं. १० गण हेक्वाका सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द, कालीध्वज गण, मलङ्गवा गुल्मकी सेनानी विनिता अधिकारी, राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका प्रमुख रिझन यादव, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर, यातायात व्यवस्था कार्यालय मलङ्गवाका प्रमुख शशि प्रसाद यादव, विभिन्न विद्यालयका प्रधानाध्यापक, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, सञ्चारकर्मी, रेडक्रस, यातायात व्यवसायी, विद्यार्थी, स्थानीय नागरिक तथा सुरक्षा निकायका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले समापन मन्तव्यमा सबै सहभागीहरूलाई धन्यवाद दिँदै सडक सुरक्षामा सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको र यस्ता सचेतनामूलक अभियानहरूले सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको अवसरमा यात्रुवाहक सार्वजनिक सवारी साधनहरूमा “म जिम्मेवार चालक” भन्ने सचेतनामूलक स्टिकर टाँस गरिएको थियो भने सहभागीहरूलाई ट्राफिक जनचेतनामूलक पर्चा तथा पम्पलेट पनि वितरण गरिएको थियो ।






