सर्लाही — चीनबाट ल्याएर भारत तस्करी गर्न तयारी अवस्थामा राखिएको स्याउ बरामद गर्न गएका सशस्त्र प्रहरीमाथि स्थानीयको भीडले ढुंगामुढा र पेट्रोल बम प्रहार गरेका छन्।
सोमबार राति करिब ९ बजे, सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी कृष्ण ढकालको नेतृत्वमा भन्सार अधिकृत र नेपाल प्रहरीको टोलीले बलरा–५ भगवानपुरस्थित मनोज मोहनकुमार सिंहको फर्निचर उद्योगमा छापा मारेको थियो।
गोप्य सूचनाका आधारमा गएको टोलीमाथि १०० भन्दा बढी स्थानीयको भीडले अचानक आक्रमण गर्दा सुरक्षाकर्मीले हवाई फायर गर्दै स्थिति नियन्त्रणमा लिन खोजेका थिए। तर भीडको आडमा तस्करहरू स्याउ लोड गरिएका ६ वटा गाडी भारतीय सीमा पार गराउन सफल भए।
सुरक्षाकर्मीले करिब ५ लाख रुपैयाँ बराबरको स्याउसहितको एउटा गाडी मात्रै नियन्त्रणमा लिन सके। घटनापछि १५ लाख रुपैयाँको सवारीसाधन र साढे ४ लाख बराबरको स्याउ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीको दाबी छ।
डीआईजी ढकालका अनुसार चीनबाट ल्याइएका ती स्याउ भारत तस्करी गर्न लागिएको पुष्टी भएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।



