सई सुवास यादव: ‘अपराधीहरूका निन्द्रा हराउने प्रहरी कमाण्डर’

सर्लाही । सर्लाहीको इलाका प्रहरी कार्यालय, कर्मैयामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सुवास यादव पछिल्ला महिनाहरूमा अपराध नियन्त्रण र सार्वजनिक सुरक्षाको क्षेत्रमा एक प्रभावशाली प्रहरी नेतृत्वकर्ताका रूपमा उदाएका छन्। उनले नेतृत्व सम्हालेको छोटो पाँच महिनाको अवधिमा उनले झन्डै ४ करोड रुपैयाँभन्दा बढीको राजश्व छली सामग्री नियन्त्रणमा लिने सफलता प्राप्त गरेका छन्, जुन उनको योजनाबद्ध निगरानी र चुस्त अपरेशनल क्षमताको प्रत्यक्ष प्रमाण हो।

तर यादवको योगदान केवल आर्थिक सुरक्षासम्म सीमित छैन। लागुऔषध कारोबार, चोरी, अपहरण, नक्कली नोट, अवैध हतियारजस्ता संगठित अपराधका विरुद्धमा उनले चलाएका अपरेशनहरू निरन्तर सफल भइरहेका छन्। हालै, उनले नेतृत्व गरेको टिमले तीन जना लागुऔषध कारोबारीहरूलाई नियन्त्रणमा लिएको थियो भने नक्कली नोट कारोबारमा संलग्न गिरोह र हतियार बोकेका अपराधीहरूलाई पनि कारवाहीको दायरामा ल्याइएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय, यर्लाहीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत रहँदा पनि सई यादवले उल्लेखनीय कार्यको इतिहास बनाएका थिए। पूर्व सांसद रामचन्द्र रायको हत्या प्रकरणमा सूचनाको आधारमा प्रमुख प्रतिवादीलाई पक्राउ गरी मुद्दा निष्कर्षमा पुर्‍याउनु, गणेश मूर्ति विसर्जनको क्रममा ढुंगा प्रहार गरी अशान्ति मच्चाउने प्रयास गर्ने मो. फरिद शाहलाई समात्नु, र बारम्बार फरार भइरहेका ७८ जना प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु—यादवकै सूक्ष्म अनुसन्धान र तुरुन्त निर्णय क्षमताको परिणाम हुन्।

त्यस्तै, भारत–नेपाल सीमाबाट तस्करी गरिँदै गरेका १५ जना बालिकाहरूलाई भारतिय सुरक्षाकर्मीहरूसँगको समन्वयमा उद्धार गरी अभिभावकको जिम्मा लगाउनु, १२ वर्षीया बालिकामाथिको यौन दुरुपयोगमा संलग्न आरोपीलाई पक्राउ गर्नु, तथा श्रीमतीको हत्या प्रयास र छोरीमाथिको आक्रमणका दोषीलाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाउनुजस्ता मुद्दाहरूमा उनले देखाएको संवेदनशीलता र सक्रियता विशेष प्रशंसायोग्य छन्।

अपहरण तथा शरीर बन्धक बनाउने गिरोहमा संलग्न अभियुक्तहरूलाई पनि पक्राउ गरी मुद्दा अघि बढाइएको छ, भने भन्सार छलि गरेर ल्याइएको १२५ बोरा दालसहितको पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अनुसार कारवाही गरिएको छ। यी सबै कार्यहरूमा यादवको पहलकदमी, सूचनाको विश्लेषण गर्ने क्षमता, र घटनास्थलमै पुगेर टोली सञ्चालन गर्ने शैलीले प्रहरी संगठनलाई थप मजबुत बनाएको छ।

यिनै सेवाको मूल्याङ्कनस्वरूप उनलाई प्रहरी दिवसको अवसरमा तत्कालीन प्रहरी महानिरीक्षक बसन्त कुँवरले “सर्वोत्तम अनुसन्धानकर्ता” को रूपमा राष्ट्रिय सम्मानले विभूषित गरेका थिए।

सई यादवप्रति स्थानीय जनप्रतिनिधि, व्यापारी वर्ग, सामाजिक अभियन्ता र सर्वसाधारणको गहिरो विश्वास स्थापित भएको छ। चौबीसै घण्टा सक्रियता, अपराधप्रतिको शून्य सहनशीलता, र जनसमुदायसँगको घनिष्ट समन्वयले उनलाई समुदाय–मैत्री प्रहरी सेवाको प्रतिक बनाएको छ।

आज, सई यादवको नेतृत्वमा कर्मैयाको प्रहरी कार्यालय केवल एक सुरक्षा इकाई नभई सर्लाही जिल्लाको शान्ति, सुव्यवस्था र कानुनी शासनको प्रतीक बनेको छ। उनको नेतृत्वले प्रहरीको छविमा नयाँ ऊर्जा भरेको छ—जहाँ इमानदारी, कर्तव्यनिष्ठा र जनउत्तरदायिता सँगसँगै अघि बढिरहेका छन्।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय