सर्लाहीमा मुस्लिम व्यक्तिमाथि अमानवीय व्यवहार : सुंगुरको खोरमा थुनेर कुटपिट, ६ जना पक्राउ

सर्लाही : सर्लाही जिल्लाको पर्सा गाउँपालिकामा एक मुस्लिम व्यक्तिमाथि भएको अमानवीय व्यवहारको घटनाले सर्वत्र आक्रोश फैलिएको छ। सुनचाँदी सम्बन्धी सामान्य विवादका कारण स्थानीय तश्लिम अंसारीलाई सुंगुरको खोरमा थुनेर कुटपिट गरिएको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

तश्लिम अंसारीले छोरीको विवाहका लागि अर्को सुनचाँदी व्यवसायीकहाँ गहना बनाएका थिए। यसै विषयलाई लिएर राजेन्द्र साह सोनारसँग विवाद उत्पन्न भएको थियो। विवादपछि साहले केही स्थानीयलाई लिएर तश्लिमलाई अपमानपूर्वक सुंगुरको खोरमा थुनेर निर्घात कुटपिट गरेका थिए।

पीडित परिवारका अनुसार, उक्त घटना पूर्व नियोजित थियो। सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूले घटनाको गम्भीरता उजागर गरेपछि प्रहरीले अनुसन्धान तीव्र पार्दै दोषीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा राजेन्द्र साह सोनार, उनका छोरा कमलेश साह सोनार, राहुल कुमार महतो, पप्पु कुमार यादव, पीडितका दाइ मोहम्मद अंसारी र अर्का एक व्यक्ति रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार, घटना धार्मिक, सामाजिक र मानवअधिकारको दृष्टिकोणले अति संवेदनशील रहेकोले अनुसन्धान गम्भीर रूपमा अघि बढाइएको छ।

स्थानीयवासी तथा मानवअधिकारकर्मीहरूले घटना प्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय