काठमाडौं — सर्लाहीबाट सुरु भएको तस्करीको यात्रा भक्तपुरमा आएर प्रहरीको जालोमा परेको छ। पराल बोकेको देखिने ट्रकमार्फत भारतबाट भन्सार छलि ल्याइएको करिब ७२ लाख रुपैयाँ बराबरको सामग्री भक्तपुर प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको हो ।
भक्तपुर प्रहरीका अनुसार सर्लाहीको लालबन्दीमा लोड गरिएको ट्रक (बा ४ ख ७६० नम्बर) मार्फत परालको आडमा लुकाइएको तस्करीको माल काठमाडौंतर्फ ल्याइँदै थियो। साँगा नजिकको जगातीमा चेकजाँच गर्दा उक्त सामग्री फेला परेको हो।
ट्रकमा ३८८७ थान कुर्ता सुरुवाल, १८७५ पिस ब्लाउज, ३९८ थान धाराको पाटपुर्जा, सर्ट, साडी, पर्दा र पाइन्टका कपडाका दर्जनौं रोलहरू लोड गरिएको थियो। ती सबै सामान भारतबाट रक्सौल, सीतामढी, सोनवर्षा हुँदै धनुषा पार गरेर नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
सामानका मुख्य मालिक पर्साको बीरगञ्जस्थित श्रीदुर्गा ट्रान्सपोर्टका मदन ‘रुन्चे’ गुप्ता रहेका छन् भने उनीसँगै मुस्ताफ अन्सारी र किरण कटुवालको समेत संलग्नता रहेको प्रहरी स्रोतको दाबी छ। ट्रकका चालक दोलखाका लक्ष्मण थामी पक्राउ परेका छन्।
सूचना अनुसार सर्लाहीको लालबन्दीमा तस्करीको सामान ट्रकमा राखिएको थियो। ती सामग्री काठमाडौंको न्युरोडस्थित मसानगल्लीमा थोक व्यापारी रञ्जित गुप्तासम्म पुर्याउने योजना बनाइएको थियो ।



