रुपन्देहीको डण्डा सीमामा खटिएका सशस्त्र प्रहरी बल नेपालका एक हवल्दार भारतीय तस्करको कुटपिटमा परेका छन् । सादा पोशाकमा सीमामा खटिँदै आएका घुमुवा हवल्दार बिक्रम जीसीलाई बैशाख २१ गते भारतीय पक्षमा कुटिएको खुलासा भएको हो ।
जीसीले सधैंजसो सीमा क्षेत्रमा सामान ओसारपसार गर्ने भारतीय व्यापारीहरूसँग ‘लाइन’ मिलाएर असुली गर्दै आएका थिए । दररेट बढाउने बहानामा एक व्यापारीको स्कुटर र सामान भन्सार बुझाएपछि उनीहरू आक्रोशित बनेका थिए । त्यसको बदला स्वरूप ती व्यापारीहरूले जीसीलाई सीमापारी कुटपिट गरेका हुन् ।
उक्त घटना ४ दिनदेखि गुपचुप राखिएको र गुल्मका उच्च अधिकारीहरूकै संलग्नता रहेको स्रोतको दाबी छ । डण्डा गुल्मका डीएसपी प्रदीप बस्नेत, उजुरी छानबिन शाखाका डीएसपी सुदीप रेग्मी लगायतका अधिकारीहरूले नै घुमुवा परिचालनमा भूमिका खेलेको खुलेको छ ।
घाइते जीसी अहिले ब्यारेकमा आराम गरिरहेको बताइएको छ । तर गण प्रमुख एसपी मेखराज जोशीलाई समेत घटना जानकारी नगराइनु सवाल उठाउने खालको छ ।



