सर्लाहीको फेनहारा नाकाबाट संगठित तस्करी: सशस्त्र प्रहरीको संरक्षणमा दैनिक लाखौंको राजस्व चुहावट

सर्लाही : सर्लाहीको फेनहारा नाका नेपाल–भारत सीमास्थित पिलर नम्बर ३३२/२ को आसपास अहिले तस्करीको प्रमुख नाकाका रूपमा चिनिन थालेको छ। किराना सामानदेखि लत्ताकपडा, चिनी, सुर्ति, आलु, प्याज, खाद्यान्न, स्पेयरपार्ट्स, मोबाइल, भैंसी र राँगापाडासम्मको सामान दैनिक रूपमा भारतबाट भित्र्याउँदै व्यापक तस्करी मौलाउँदै गएको छ।

यस अवैध कारोबारमा सशस्त्र प्रहरी बल (APF) अन्तर्गतको सीमा प्रहरी चौकी (बीओपी) सिमराका सुरक्षाकर्मीहरूकै संलग्नता रहेको गम्भीर आरोप उठेको छ। विशेषतः रौतहटको दुधियाभारमा करिब ४–५ वर्ष सेवा दिई ‘लाइन सञ्चालन’ मा अनुभवी मानिएका असई विजय साह तेली सिमरा खटिएपछि फेनहारा नाकाबाट तस्करी थप सक्रिय भएको स्रोतको भनाइ छ।

सशस्त्र प्रहरी गुल्म सिमराका डिएसपी प्रेमबहादुर कठायतको नेतृत्वमा असई साहलाई सादा पोशाकमा परिचालन गरी तस्करी सजिलो बनाइएको उल्लेख गरिएको छ। सोही कारण तस्करीकर्ता समूहलाई रोकटोक नगरी सुरक्षित बाटो बनाइदिने काम भइरहेको छ।

कपडा कारोबारमा संलग्न लखिन्दर, प्रमोद, सुतेश, रेडिमेट कपडाको तस्करीमा सक्रिय रहेका छन्। किराना सामान ढुवानीकर्ता सिवकुमार, मुकेश, भोला, गुडु, नवल, मनोज, चेतनजस्ता व्यक्तिहरू दैनिक रूपमा अवैध ढुवानीमा संलग्न छन्। आलु, प्याज तथा खाद्यान्न सामग्री ढुवानी गर्ने सुनिल, अनिल, भोला काका जस्ता व्यक्तिहरूले पनि ठूला मात्रामा सामान ओसारपसार गरिरहेका छन्।

राजस्व तिर्नु पर्ने सामानहरू नाका पार गराएर तस्करी गर्दा राज्यलाई दैनिक लाखौंको क्षति भइरहेको छ। तर, यस अवैध कारोबारबाट असई विजय साह तेली लगायत सुरक्षाकर्मीहरूले व्यक्तिगत दस्तुरी संकलन गर्ने क्रम रोकिएको छैन। यसरी सुरक्षाको नाममा कार्यरत निकायहरू नै संरक्षणकर्ता बनेपछि सीमामा अवैध कारोबार झन मौलाएको देखिन्छ।

फेनहारा नाका हुँदै हुने संगठित तस्करी, सुरक्षाकर्मीहरूसँगको अपवित्र गठजोड, र राज्य राजस्वको निरन्तर हानि – यी सबै घटनाले सशस्त्र प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ। अब छानबिन र जवाफदेहिताको माग समयको आवश्यकता बनेको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय