जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोमाथि अख्तियारले सुरु गरेको भ्रष्टाचार अनुसन्धान अप्रत्याशित रूपमा रोकिएको छ। सर्लाहीको बलरा नगरपालिकामा कार्यरत रहँदा महतोले तीन सय रुपैयाँको रजिष्टर १७ हजारमा खरिद गरेको उजुरीपछि सुरु भएको छानबिन रकम फिर्ता गरेपछि ठप्प भएको हो।
बर्दिबासस्थित अख्तियार कार्यालयले स्पष्ट सिफारिससहित मुख्यालय टंगालमा मुद्दा दर्ता गर्न पठाएको भए पनि महतोले वैशाखको पहिलो साता ३ लाख १० हजार रुपैयाँ बलरा नगरपालिकाको खातामा फिर्ता गरेपछि प्रक्रिया रोकिएको हो।
तर, रकम फिर्तासँगै अनुसन्धान रोकिनु र अख्तियारको टंगाल कार्यालयले मुद्दा स्थगन सिफारिस गर्नुले गम्भीर आशंका जन्माएको छ। यसबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको भूमिका पनि विवादमा तानिएको छ, जसले मुद्दा मिलाउने सेटिङ भएको संकेत गरेको छ।
वर्तमान प्रशासकीय अधिकृतले समेत खातामा रकम जम्मा भएको पुष्टि गर्न नसक्दा घटनाले थप रहस्य पाएको छ। वयोवृद्ध नेता रामजी यादवले भने, “यस्तो निर्णयले भ्रष्टाचारलाई प्रश्रय दिन्छ, अख्तियारको नैतिकता खतरामा छ।”



