सर्पदंश उपचार केन्द्रमा उपकरण छन्, चिकित्सक छैनन्: छ वर्षदेखि आइसियु र भेन्टिलेटर प्रयोगबिहीन

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा अत्यावश्यक स्वास्थ्य उपकरण रहेका छन्, तर तिनलाई सञ्चालन गर्ने दक्ष चिकित्सकको अभावमा ती प्रयोगमै आउन सकेका छैनन् । उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर उपलब्ध भए पनि ती उपकरण झण्डै छ वर्षदेखि थन्किएका छन् ।

उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलका अनुसार, यस अवधिमा विभिन्न माध्यमबाट दक्ष चिकित्सकको खोजी गरिए पनि सफल हुन सकेका छैनन् । हालै मात्र केन्द्रले चिकित्सकका लागि आवेदन आह्वान गरी परीक्षा समेत सञ्चालन गरेको थियो । पाँच जनाले आवेदन दिए पनि एकजना मात्रै उत्तीर्ण भए र उनी पनि अन्ततः नियुक्तिमा उपस्थित भएनन् ।

केन्द्रले आफ्नै दुई स्वास्थ्यकर्मीलाई धरानमा पठाएर उपकरण सञ्चालनसम्बन्धी तालिम समेत दिलाएको थियो । तर, तालिम लिएर फर्किएका ती कर्मचारीहरू प्रयोगका बेला झस्किने गरेका छन्, जसको मुख्य कारण अघिल्लो घटनाबाट उत्पन्न मानसिक त्रास रहेको बताइन्छ । २०७६ असार २३ गते उपचारको क्रममा एक बालिकाको ज्यान गएपछि भएको आक्रोशले उपकरणमा तोडफोड हुनुका साथै ड्युटीमा रहेका चिकित्सकमाथि हातपात समेत भएको थियो ।

त्यस घटनापछि प्रदेश सरकारबाट ३० लाख र नगरपालिकाबाट पाँच लाख रुपैयाँ प्राप्त गरी नयाँ आइसियु र भेन्टिलेटर किनिएको थियो । तर, उपकरण आउनु र त्यसलाई प्रयोगमा ल्याउनु भने बीचैमा अड्किएको छ । कुनै दक्ष चिकित्सक नियुक्त गर्दा हाल कार्यरत अन्य स्वास्थ्यकर्मीहरूको तुलनामा निकै बढी, करिब दुई लाख रुपैयाँ मासिक तलब दिनुपर्ने अवस्था आउँदा थप आर्थिक बोझ परेको केन्द्रले जनाएको छ ।

उपचारका लागि सर्पदंशको एन्टिस्नेक भेनम सरकारले उपलब्ध गराए पनि अन्य आवश्यक औषधिहरू भने केन्द्रले आफैँ खरिद गर्नुपरेको छ । बिरामीबाट प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ लिने गरिएको छ भने संस्थाका आजीवन सदस्यका लागि शुल्क पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।

हाल उपचार केन्द्रको सञ्चालनमा लालबन्दी, हरिवन, ईश्वरपुर र हरिपुर नगरपालिकासहित नगरपालिकाका केही वडाहरूले वार्षिक बजेट सहयोग गर्दै आइरहेका छन् । तर, दक्ष जनशक्तिको अभावमा अत्यावश्यक उपकरण प्रयोगमा ल्याउन नसकिँदा गम्भीर बिरामीको ज्यान जोखिममा पर्दै आएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय