सर्लाहीको विवाह समारोहमा नक्कली पेस्तोलबाट गोली पड्काउने महिला प्रहरी अनुसन्धानमा

सर्लाही : सर्लाहीको मलंगवा नगरपालिका–५ मा सम्पन्न एक विवाह समारोहमा नक्कली पेस्तोलबाट गोली पड्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको ध्यान आकर्षित भएको छ । भाइरल भिडियोलाई लिएर सप्तरीको बोधेबर्साइन नगरपालिका–५ की डा. बबी सिंह यादव प्रहरी अनुसन्धानमा परेकी छन् ।

प्रहरी सोधपुछमा डा. यादवले प्रयोग गरिएको हतियार सर्लाहीको मलंगवा नगरपालिका – २ निवासी अंजनी तिलहरीको भएको बताएकी थिइन् । त्यसै आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब निरीक्षक कलम शाहीको नेतृत्वमा अनुसन्धान टोली खटाइएको थियो ।

अनुसन्धानबाट खुल्न आएको विवरण अनुसार बैशाख ११ गते मलंगवा–५, भाडसरस्थित ऐलानी टोलमा बसन्त कुमारकी छोरी सुप्रिया कुमारीको हल्दी – मेहंदी कार्यक्रममा उक्त गोली पड्काइएको हो । पेस्तोल बसन्त कुमारका दाजु अंजनी तिलहरीको घरबाट ल्याइएको पुष्टि भएको छ ।

प्रहरीले अंजनी तिलहरीको घरबाट “RANGER TOY GUN” लेखिएको नक्कली पेस्तोल र एक थान गोली बरामद गरेको छ । बरामद सामग्रीको मुचुल्का तयार गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट झण्डै १ किलोमिटर उत्तर–पूर्वमा पर्छ । हाल घटनासँग सम्बन्धित थप प्रमाणहरू संकलन भैरहेको र संलग्न व्यक्तिहरूको भूमिकाबारे गहिरो अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानपछि दोषीमाथि कानुनी कारबाही गरिने जनाएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय