काठमाडौं – औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि डोम समुदायका दीपक मरिकको परिवार धम्कीका कारण विस्थापित भएको छ।
विष्णु महायज्ञको नाममा फागुन १० गते औरही गाउँपालिका-५ मा रहेको दीपक मरिकको घर डोजर लगाएर भत्काइएको थियो। घटनापछि संलग्न रहेको आरोपमा अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेपछि अध्यक्ष यादवका आफन्त र समर्थकहरूले दीपकको परिवारलाई गालीगलोज र धम्की दिएका थिए। असुरक्षित महसुस भएपछि दीपककी श्रीमती अनिता मरिक वडा नम्बर ४ कोमलपुरमा रहेका दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएकी छिन्। दीपक स्वयं पनि त्यहीँ बसेका छन् भने उनका छोराछोरीहरूले औरही प्रहरी चौकीमा रात बिताएका छन्।



