जनकपुर : जनकपुरधामकी आरती मण्डल, जो वर्षौंदेखि अरूका कथाहरू रेडियो तरंगमार्फत दर्शकसम्म पुर्याइरहेकी थिइन्, अब आफैं एउटा प्रेरणादायी कथा बनेकी छन्। रेडियो पत्रकारिताबाट अभिनयमा प्रवेश गरेकी आरतीले नेपाली फिल्म राजागञ्ज मार्फत पहिलो पटक ठूलो पर्दामा अभिनय गरेकी छिन्।
शुक्रबारदेखि प्रदर्शनमा आएको राजागञ्ज मधेसको यथार्थमा आधारित फिल्म हो, जसले दुई बालक अपहरणपछि उनीहरूको खोजीमा लागेको प्रहरी संघर्षलाई देखाउँछ। मधेसको समाज, संस्कार, र परिवेशलाई उजागर गर्ने यस फिल्ममा आरतीको अभिनयले दर्शकहरूको ध्यान तानेको छ।
रेडियो स्टुडियोको संसारमा रमाइरहेकी आरती अभिनय यात्रामा आउनु संयोगमात्रै भएको बताउँछिन् । “जनकपुरमा फिल्म छायांकन हुँदै थियो, र मधेसी पात्रका लागि कलाकार खोजी भइरहेको थियो। अडिसन दिने मौका पाएँ, अभिनय मेरो लागि नयाँ भए पनि निर्देशकको टिमले मलाई छनोट गर्यो,” उनले अनुभव सुनाइन् ।
यसअघि नाटक लेखन र डबिङमा संलग्न रहेकी उनले पहिलो पटक क्यामेराको अगाडि अभिनय गरेकी हुन्। “पहिलो अनुभव निकै रोचक रह्यो। अडिसन दिँदा पत्रकारको भूमिका पाउँछु कि भन्ने लागेको थियो, तर मेरो अभिनय हेरेर फरक भूमिका दिइयो,” उनले भनिन्। राजागञ्ज नेपाली फिल्म उद्योगमा महिला-प्रधान कथासँगै सामाजिक यथार्थको ऐना बनेको छ। सामान्यतया नेपाली फिल्म उद्योग पुरुष-केन्द्रित हुने गर्छ, तर निर्देशक दीपक रौनियारले सात जना महिला पात्रहरू मार्फत फिल्मलाई अगाडि बढाएका छन्।
यस फिल्ममा आरतीसँगै आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, निकिता चान्डक, पुष्पा यादव, र पशुपति राईजस्ता कलाकारहरूको प्रमुख भूमिका छ। महिला-प्रधान फिल्महरू व्यावसायिक रूपमा सफल हुँदैनन् भन्ने धारणालाई चुनौती दिँदै राजागञ्जले फरक प्रयोग गरेको छ। फिल्ममा दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठ जस्ता कलाकार सहायक भूमिकामा छन्। आरती पत्रकारितालाई निरन्तर अघि बढाउने सोचमा छिन्, तर अभिनयलाई पनि अवसरका रूपमा लिइरहेकी छन्। “राम्रो प्रस्ताव आए अभिनय गर्नेछु, तर पत्रकारितालाई कहिल्यै छोड्ने छैन,” उनले भनिन्।
आरती मण्डलको यो रूपान्तरण रेडियो पत्रकारिताबाट नेपाली फिल्म उद्योगसम्मको यात्रा धेरैका लागि प्रेरणादायी बन्न सक्छ। राजागञ्जले न केवल मधेसको कथा सुनाउँछ, तर नेपाली फिल्म उद्योगमा महिलाहरूको सशक्त भूमिकालाई पनि नयाँ उचाइमा पुर्याउने सम्भावना राख्छ।



