सर्लाही । सर्लाहीका तीन वटा वडालाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ। बलरा नगरपालिकाका वडा नम्बर ८ र ९ तथा गोडैता नगरपालिकाको वडा नम्बर ४ लाई छुट्टाछुट्टै समारोहबीच शतप्रतिशत विद्यालय भर्ना भएको वडा घोषणा गरिएको हो।
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) र सेभ द चिल्ड्रेनको प्राविधिक तथा आर्थिक सहयोगमा सम्बन्धित वडा कार्यालयहरूको आयोजनामा घोषणा कार्यक्रम सम्पन्न भएका हुन्।

बलरा नगरपालिका–८ गडहियालाई असोज ५ गते र वडा नम्बर ९ अचलगढलाई असोज ७ गते शतप्रतिशत विद्यालय भर्ना भएको वडा घोषणा गरिएको थियो। दुवै कार्यक्रममा बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो। वडा नम्बर ८ को कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष छेतनु साह र वडा नम्बर ९ को कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष विरेन्द्र प्रसाद चौधरीले गरेका थिए।
यसैगरी, गोडैता नगरपालिका–४ रोहुवालाई असोज १६ गते शतप्रतिशत विद्यालय भर्ना भएको वडा घोषणा गरिएको हो। कार्यक्रममा गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादव प्रमुख अतिथि तथा वडा अध्यक्ष राजा राम साह अध्यक्ष रहेका थिए।
घरधुरी सर्वेक्षण, बालबालिकाको विवरण संकलन तथा टोलस्तरीय सचेतना कार्यक्रम सञ्चालन गरी विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याइएको जनाइएको छ।
बलरा–८ मा ४ देखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका ५२ जना बालबालिकालाई विद्यालय भर्ना गराइएको छ। तीमध्ये २० जना बालक र ३२ जना बालिका रहेका छन्। उक्त वडामा कुल ९४८ घरधुरी छन्।
त्यस्तै, बलरा–९ मा विद्यालय बाहिर रहेका २३ जना बालबालिकालाई विद्यालय भर्ना गराइएको छ। तीमध्ये १३ जना बालक र १० जना बालिका छन्। यस वडामा कुल ६९६ घरधुरी रहेका छन्।
गोडैता–४ मा भने विद्यालय बाहिर रहेका १३ जना बालबालिकालाई विद्यालयको पहुँचमा ल्याइएको छ। तीमध्ये ६ जना बालक र ७ जना बालिका छन्। उक्त वडामा कुल ६०४ घरधुरी रहेको जनाइएको छ।

घोषणा कार्यक्रममा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका उपाध्यक्ष बजरंगवली साह र वरिष्ठ परियोजना संयोजक रंजित कुमार चौधरीसहित शिक्षा, महिला तथा बालबालिका र पञ्जीकरण शाखाका प्रमुख, वडा बालअधिकार समिति, बालक्लब, विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो।
शतप्रतिशत भर्नापछि पनि बालबालिकाको नियमित उपस्थिति र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न निरन्तर अनुगमन गर्ने प्रतिबद्धता जनाइएको छ। विपन्न, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री र दिवा खाजाको व्यवस्था गर्दै विद्यालय छाड्ने दर शून्यमा राख्ने तथा बालमैत्री र लैङ्गिकमैत्री सिकाइ वातावरण निर्माणमा निरन्तर समन्वय गर्ने प्रतिबद्धता पनि गरिएको छ।

नयाँ उमेर समूहमा प्रवेश गर्ने तथा बसाइँ सरी आउने परिवारका बालबालिकालाई तत्काल विद्यालय भर्ना गराई शतप्रतिशत भर्नाको अवस्थालाई दिगो बनाउने योजना समेत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले अघि सारेका छन्।



