सर्लाहीका प्रहरी सहायक हवल्दार राजेश कुमार यादव ‘साउन महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक हवल्दार राजेश कुमार यादवलाई २०८३ साल साउन महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम यादवलाई BEST PROVINCE POLICE OF THE MONTH घोषणा गरेका हुन्।

सर्वोत्कृष्ट प्रहरी घोषित यादवलाई प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रशंसा पत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेका छन्। प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको लगनशीलता तथा प्रहरी संगठनको प्रतिष्ठा अभिवृद्धिमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै यादवलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जनाइएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उत्कृष्ट प्रहरी छनोटको उद्देश्य प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी बनाउन प्रोत्साहित गर्नु हो।

साउन महिनाका लागि सर्वोत्कृष्ट प्रदेश प्रहरीको सम्मान प्राप्त गरेसँगै प्रहरी सहायक हवल्दार यादवलाई सहकर्मी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले २०८३ भदौ ८ गते उक्त सम्मान तथा पुरस्कार वितरण गरेको हो।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर