सर्लाहीमा भारतीय कारबाट १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

मलङ्गवा । सर्लाहीमा भारतीय नम्बर प्लेटको कारबाट १०९ किलोग्राम गाँजा बरामद भएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ५:३० बजे लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि नियमित सवारी जाँचका क्रममा भारतको BR 09 M 3766 नम्बरको कार रोकेर खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा कारको डिक्कीमा २३ वटा पोकाभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको करिब १०९ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

घटनामा भारतको बिहार राज्य, सितामढी जिल्लाका २६ वर्षीय दीपक कुमार महतो२५ वर्षीय अमन कुमार पक्राउ परेका छन्। पक्राउ परेका दीपक कार चालक हुन् भने अमन सोही कारमा सवार रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले गाँजा, कार तथा दुवै जनालाई नियन्त्रणमा लिएको हो। त्यसपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक श्याम थापा मगरको नेतृत्वमा पुगेको टोलीले मुचुल्का तयार गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर