सर्लाही । सर्लाही प्रहरीले ठूलो परिमाणमा अवैध मदिरासहित एक पिकअप गाडी नियन्त्रणमा लिँदै पूर्व विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार बिहान करिब ८ः३० बजे बलरा नगरपालिका–३ लक्ष्मीपुर क्षेत्रमा अवैध मदिरा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गडहिया, इलाका प्रहरी कार्यालय बलरा तथा सशस्त्र प्रहरी बलको बीओपी छतौनाबाट खटिएको संयुक्त १७ सदस्यीय टोलीले छापा मारेको हो।
प्रहरी टोलीले स्थानीय ज्ञानेन्द्र झाको भुस राख्ने गोठमा लुकाइछिपाइ राखिएको प्रदेश २–०३–००१ ख ५१३५ नम्बरको पिकअपबाट मदिरा अनलोड भइरहेको अवस्थामा अवैध मदिरा बरामद गरेको जनाएको छ।
घटनास्थलबाट धनकौल गाउँपालिका–१ निवासी ३१ वर्षीय राजकुमार महतो र बलरा नगरपालिका–३ लक्ष्मीपुर निवासी ज्ञानेन्द्र झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका महतो श्री जनकल्याण माध्यमिक विद्यालय, धनकौल–१, धोबिनियाका पूर्व विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष हुन्। उनको कार्यकाल केही महिनाअघि मात्रै सकिएको प्रहरीले जनाएको छ।
प्रहरीले करिस्मा सौफी रक्सी २५० कार्टुन, गौरव सौफी रक्सी ४७ कार्टुन, ब्ल्याक एसी ४ कार्टुन १३ बोतल, बियर ४ कार्टुन तथा मेरिगोल्ड १ कार्टुन बरामद गरेको छ। साथै, करिब १० लाख रुपैयाँ मूल्यको पिकअप गाडीसमेत नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार बरामद मदिरा र सवारीसाधनको अनुमानित कुल मूल्य १२ लाख १५ हजार ७५० रुपैयाँ रहेको छ।
पक्राउ परेका दुवै जना, बरामद मदिरा तथा पिकअप गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



