सर्लाहीमा लागूऔषधविरुद्ध प्रहरीको ठूलो सफलता, ३३० केजी गाँजा बरामद

सर्लाही । सर्लाही प्रहरीले बलरा नगरपालिकास्थित एक कुखुरा फार्मबाट ३३० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो बलरा नगरपालिका–७ डुमरियामा रहेको भोला सिंहको कुखुरा फार्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाको संयुक्त टोलीले छापा मारेको थियो।

प्रहरी निरीक्षक कैलाश चौधरीको नेतृत्वमा पुगेको टोलीले फार्ममा खानतलासी गर्दा २६ वटा बोरामा राखिएको १३ क्विन्टल अदुवासँगै १९ वटा पोकामा लुकाएर राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअप गाडीसमेत नियन्त्रणमा लिएको छ। घटनास्थलबाट बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद गाँजा, पिकअप गाडी तथा पक्राउ परेका राउतमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय