‘प्रेमिकालाई नबोलाए हामफाल्छु’ भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक

सर्लाही । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन्। गोडैता नगरपालिका–९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका हुन्।

टावरमा पुगेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरी आफू माथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई खबर पुगेको थियो।

प्रहरीका अनुसार हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै टावरबाट हामफाल्ने चेतावनी दिइरहेका छन्।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उनलाई सुरक्षित रूपमा उद्धार गर्ने प्रयास गरिरहेको जानकारी दिए।

‘उहाँलाई सम्झाइ–बुझाइ गरेर सकुशल तल झार्ने प्रयास भइरहेको छ। अहिले पनि टोली घटनास्थलमै खटिएको छ,’ डीएसपी गौतमले भने।

सुरक्षा निकायले तलबाट फोनमार्फत समेत हुसेनसँग निरन्तर संवाद गरिरहेको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार हुसेन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन्। उनी र सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीबीच प्रेम सम्बन्ध रहेको बताइए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय