सर्लाही । सर्लाहीमा भैंसी गोठमा सुतिरहेका एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
बसबरिया गाउँपालिका–१ मानपुरका ५२ वर्षीय होशनारायण राय यादवको शनिबार मध्यराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार यादव भैंसी गोठमा सुतिरहेको अवस्थामा राति करिब १२ बजे अपरिचित समूहले घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो। घटनापछि परिवारका सदस्यले गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदीले जानकारी दिए।
मृतकका जेठा छोरा सुवासकुमार यादवले आफ्ना बुवा अत्यन्तै सरल र नरम स्वभावका व्यक्ति रहेको तथा कसैसँग कुनै किसिमको विवाद नरहेको बताए। उनले हत्याको कारण र संलग्न व्यक्तिबारे अनुमान गर्न समेत कठिन भइरहेको बताए।
प्रहरीले हत्यामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको जनाएको छ।



