काठमाडौं । चर्चित सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे पहिलोपटक सार्वजनिक धारणा राख्दै आफूलाई बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा भ्रम फैलाइएको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत जारी वक्तव्यमा उनले ‘सिला’ रेस्टुरेन्ट खरिददेखि ‘मिथिला थाली’ सञ्चालनसम्मको सम्पूर्ण प्रक्रिया कानुनी र सम्झौताअनुसार भएको बताएका हुन्।
साहको सचिवालयद्वारा जारी विज्ञप्तिमा उनलाई हतारमा पक्राउ गरिएको उल्लेख गर्दै त्यसबाट उनले वर्षौंदेखि बनाएको प्रतिष्ठा र सार्वजनिक छविमा गम्भीर क्षति पुगेको दाबी गरिएको छ। वक्तव्यमा पक्राउ प्रक्रिया उनको मानमर्दन गर्ने नियतले अघि बढाइएको आरोपसमेत लगाइएको छ।
साहका अनुसार मिथिला समुदायको परम्परागत खानालाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुरुमा जनकपुरमा ‘मिथिला थाली’ सञ्चालन गरिएको थियो। त्यसपछि काठमाडौंको गैरीधारास्थित ‘सिला’ रेस्टुरेन्ट रहेको स्थानमा व्यवसाय विस्तार गरिएको उनले बताएका छन्। उक्त स्थानमा सञ्चालित ‘सिला’ रेस्टुरेन्टसँग सम्बन्धित सम्पत्ति दुई करोड २५ लाख रुपैयाँमा खरिद गरी ‘मिथिला थाली’ सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
वक्तव्यमा रेस्टुरेन्ट खरिदपछि पूर्व सञ्चालक कम्पनी ‘आर्जव होल्डिङ्स प्रालि’को तर्फबाट बाँकी रहेको करिब ४० लाख रुपैयाँ घरभाडा र दुई लाख ७७ हजार ९ सय ९७ रुपैयाँ विद्युत् महसुलसमेत सम्बन्धित निकायमा तिरिएको उल्लेख गरिएको छ। साथै, उक्त कम्पनीले लिएको बैंक ऋणको किस्ता तथा अन्य दायित्व व्यवस्थापनमा समेत सहयोग गरिएको दाबी गरिएको छ।
पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँको चेक विवादबारे पनि साहले आफ्नो पक्ष प्रस्तुत गरेका छन्। उनका अनुसार सम्झौताअनुसार कम्पनीकै खातामा रकम भुक्तानी गरिएको र विभिन्न बैंकिङ माध्यमबाट कुल २८ लाख २५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। आर्जव होल्डिङ्सका तर्फबाट प्रतिनिधित्व गर्ने शकुन्तला थापाले व्यक्तिगत खातामा रकम माग गरे पनि सम्झौताअनुसार कम्पनीलाई नै भुक्तानी गरिएको उनले बताएका छन्।
साहले सामान खरिदबापतको रकम भुक्तानी भइरहे पनि सम्बन्धित कम्पनीले आवश्यक बिल तथा कर चुक्ता प्रमाणपत्र उपलब्ध नगराएको आरोपसमेत लगाएका छन्।
पक्राउको विषयमा उनले आफू चार लाख ५० हजार रुपैयाँसँग सम्बन्धित मुद्दामा पक्राउ परेको जानकारी दिएका छन्। उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलाविरुद्ध उच्च अदालत जाने तयारीमा रहेको र कानुनी समयावधि बाँकी रहँदै पक्राउ गरिएको भन्दै उनले यसलाई अस्वाभाविक र षड्यन्त्रपूर्ण कदमको संज्ञा दिएका छन्।
साहले आफू फरार नरहेको दाबी गर्दै एक साताअघि नै भद्रकालीस्थित प्रहरी कार्यालयमा उपस्थित भएको बताएका छन्। सामान्य आर्थिक विवादको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली जनकपुरसम्म पुगेर पक्राउ गर्नुको कारण भविष्यमा स्पष्ट हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।
सचिवालयका अनुसार साह हाल हिरासतबाट रिहा भइसकेका छन्। साथै, रेस्टुरेन्ट खरिद प्रक्रिया, आर्थिक कारोबार तथा विवादसँग सम्बन्धित थप विवरण निकट भविष्यमा सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ।



