सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न पुगेको अदालत तथा प्रहरी टोलीमाथि भएको अवरोध र आक्रमण घटनासँग सम्बन्धित उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न भएको भन्दै वडाध्यक्ष गुप्ताविरुद्ध उजुरी परेपछि सोमबार साँझ उनलाई नियन्त्रणमा लिइएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा जनता समाजवादी पार्टी (जसपा) नेपाल गोडैता नगरपालिका–५ का वडा समिति अध्यक्ष सुरेन्द्र यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले भने वडाध्यक्ष गुप्तामाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । घटनाका बेला गुप्ता भारतमा रहेको दाबी गर्दै उनले राजनीतिक तथा व्यक्तिगत पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाए ।
नगरप्रमुख यादवका अनुसार अदालतका कर्मचारीमाथि भएको हातपातमा वडाध्यक्षको कुनै भूमिका नरहेको र केही स्थानीय महिलाबीच भएको विवादलाई लिएर अनावश्यक रूपमा उनको नाम जोडिएको हो ।
तर प्रहरीले भने अदालतको फैसला कार्यान्वयनमा अवरोध तथा सरकारी कर्मचारीमाथि भएको दुर्व्यवहारसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।



