सर्लाही । मनसुनजन्य विपद्को पूर्वतयारी स्वरूप सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ स्थित नाढीमन तालमा बुधबार संयुक्त सिमुलेसन अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समिति सर्लाहीको आयोजनामा भएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा उद्धार ‘ड्रिल’ प्रदर्शन गरेका हुन् ।
कृत्रिम घटनामार्फत गरिएको अभ्यासमा बाढी तथा डुबानमा फसेकाको उद्धार, खोज तथा राहत व्यवस्थापन लगायतका गतिविधि प्रदर्शन गरिएको थियो । कार्यक्रममा चन्द्रनगर गाउँपालिकाको सहकार्य रहेको थियो ।
अभ्यास कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गीता देवी महतो, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्रनाथ पौडेल तथा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण मुख्यालय सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।
ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा १० जना प्रहरी, नेपाली सेनाका २४ जना तथा सशस्त्र प्रहरीका ३५ जना सुरक्षाकर्मी अभ्यासमा सहभागी भएका थिए ।
मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्लाई लक्षित गर्दै सुरक्षा निकायबीच समन्वय, उद्धार क्षमता अभिवृद्धि तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त अभ्यास गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासी गरी करिब १५० जनाको सहभागिता रहेको थियो ।



