सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१२ लौकट टोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान करिब २ बजेतिर अपरिचित व्यक्तिहरु भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।
सो क्रममा ३/४ जनाको समूह प्रहरीलाई देख्नासाथ भागेको प्रहरीले जनाएको छ । भाग्ने क्रममा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् । प्रहरीका अनुसार उनको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामको रड, कालो धुलो पदार्थ, फलामका बल तथा फलामका रडका टुक्रा बरामद गरिएको छ ।
बरामद गरिएको कालो धुलो पदार्थमध्ये एक डब्बामा रहेको पदार्थ ३५ ग्राम र अर्को डब्बामा रहेको पदार्थ १४० ग्राम रहेको प्रहरीले जनाएको छ । साथै साइकलमा प्रयोग हुने ८० थान फलामका बल र पाँच थान फलामका रडका टुक्रा पनि बरामद गरिएको छ ।
घलानलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय बरहथवाले थप अनुसन्धान गरिरहेको छ ।



